को हुन पूर्ण घर्ती




रुकुम । पूर्वी रुकुम प्रदेश सभा क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फवाट विजयी बनेका पूर्णबहादुर घर्तिको राजनीतिक यात्रा घुमाउरो, संघर्षपूर्ण तर खुला कागज जस्तै रहेको छ । युद्धका वेला रुकुमको जनसरकार प्रमुख भएका घर्ती प्रमुख रहेको जनसत्ताले गरेका कामको अहिले पनि प्रशंसा हुने गरेको छ । विकास निर्माण, घरजग्गाा पास, न्याए जस्ता कामले त्यतिवेला जनताले ठूलो राहत महशुस गरेको थियो । हाल सोही पूर्वीरुकुम क्षेत्र नं. २ का उम्मेद्वार बनेर गाउँगाउँमा पुगेका वेला घर्तीलाई जनताले जनसरकार प्रमुख हुने वेला जस्तै मुख्य मन्त्री भएर विकास निर्माण, न्याए, समाजसेवा गर्न आग्रह गरिरहेका थिए ।

पूर्णवहादुर घर्ति मगर (आयाम) को पारिवारिक तथा राजनीतिक जीवन हेर्दा उहाँ इमान्दार, कर्तव्यनिष्ठ र जनसेवामा लाग्ने गरेको पाइन्छ । घर्ती संघर्षशील, जुझारु, वैचारिक र इमान्दार नेताको रुपमा चिनिनुहुन्छ । साविक चुनवाङ –६ लाखरपेदिचौर (हाल भूमे गाउँपालिका वडा नं. ९ ) रुकुममा २०२४ असार २९ गते उहाँको जन्म भएको हो । वुवा विरबहादुर घर्ती र आमा जयकली घर्तीको कोखवाट जन्मनुभएका घर्तिको विवाह रोल्पा निवासी सीता आचार्यसँग भएको छ । उहाँको एकमात्र छोरी लिचुन घर्ति मगर हुनुहुन्छ ।

उहाँ २०३६ सालको राजनीतिका प्रभाववाट प्रभावित भई राजनीतिमा आवद्ध भएको पाइन्छ । सामाजिक कार्य गर्ने उद्देश्यका साथ गठन भएको एक क्लवलाई नै तत्कालिन मशालको गाउँ पार्टीमा रुपान्तरण गरि उहाँ तत्कालिन चुनवाङ गाविसको संस्थापका पार्टी अध्यक्ष बन्नुभएको हो ।


उहाँले २०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरेर राजनीतिक जीवनको औपचारिक यात्रा प्रारम्भ गर्नुभएको थियो भने २०४१ सालमा तत्कालिन मशालको पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । २०४६ सालमा अनेरास्ववियु रुकुमको जिल्ला अध्यक्ष भएर पूर्णकालिन सदस्यता पनि प्राप्त गरेका उहाँ हालसम्म पूर्णकालिन रुपमा राजनीतिमा संलग्न हुनुहुन्छ । २०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनवाट जिल्ला समितिमा निर्वाचित र एकता महाधिवेशन प्रतिनिधी समेत बन्नुभएको थियो ।

त्यसपछि उहाँले राजनीतिक जीवनमा फरक मोर्चा सम्हाल्नु भएको पाइन्छ । घर्ती कुशल राजनीतिज्ञ मात्र हैन जनप्रिय जनकलाकार पनि हो । उहाँका गीत संगितले २०४६ सालको आन्दोलनदेखि जनयुद्धको सुरुवाति वर्गसंर्घषको वेलासम्म जनता जगाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । २०४७ देखि २०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजक बनेर सास्कृतिक मोर्चा सम्हालेका घर्तिका तत्कालिन सरकारवाट रोल्पामा रोमियो अप्रेसनको क्रममा “ढल्दैन त्यो वन्दुगले ………….”, जनयुद्धको क्रममा “एकै रातमा धर्ति हल्लियो…………….”, “यात्रा हाम्रो लामो छ…………..” , “कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन………..” लगाएत दर्जनौ चर्चित गीतहरु रहेके छन् । उहाँले २०४७ देखि २०५२ सम्म केन्द्रिय सांस्कृतिक टोली सामनामा परिवारमा र जनसांस्कृतिक संघको केन्द्रिय नेतृत्वमा रहि विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमीका निर्वाह गनुभएका उहाँ २०६० सालमा सामना सांस्कृतिक परिवारको संयोजक तथा केन्द्रिय श्रव्यदृश्य विभाग प्रमुख समेत हुनुभएको थियो ।


सांस्कृतिक फाँटमा मात्र हैन उहाँले संगठनमा पनि महत्वपूर्ण भूमिका निभाउनु भयो । २०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी, २०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनवाट नेकपा माओवादीको केन्द्रिय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, वाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रिय सदस्य, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रिय सदस्य, २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रिय सदस्य, २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रिय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इन्चार्ज तथा पोलिटव्युरो सदस्य रहनु भएका उहाँ हाल नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश संयोजक तथा केन्द्रिय सचिवालय सदस्य हुनुहुन्छ ।

उहाँको जीवनमा महत्वपूर्ण क्षण भनेको रुकुमको जनसरकार प्रमुख भएर जनसेवा गर्नु हो । उहाँ २०५७ मंसिर २९ गते जिल्ला जनसरकार रुकुमको प्रमुखमा निर्वाचित (पौष ७ मा घोषणा) हुनुभएको थियो । उहाँ जनसरकार प्रमुख भएको वेला स्थानीय स्तरसम्म नै सत्ता विस्तार गर्नुका साथै विकास निर्माण र जनसेवाका कामहरु भएका थिए । यसैगरी २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत उहाँले जिम्मेवारी निभाउनु भएको थियो ।
घर्ती पञ्चायत विरोधी आन्दोलनको क्रममा २०४५ पौष २७ गते रोल्पा लिवाङमा प्रहरीद्धारा गिरफ्तार परि चरम यातनाका साथ ५२ दिन हिरासत जीवन विताउनुभएको थियो ।

प्रस्तुती गणेश ओली

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्