समाचार

८१ दिनपछि खुला गरियो जानकी मन्दिरको मूलद्वार, सर्वसाधारणको चहलपहल बढ्दो

By Thah Online

June 18, 2020

जनकपुरधाम। झण्डै तीन महिनापछि लकडाउन खुकुलो भएसँगै आज ऐतिहासिक जानकी मन्दिरको मूलद्वार खुल्ला गरिएको छ । सम्भवतः पहिलोपटक लामो समय हिन्दूहरूको आस्थाको केन्द्र एवं सय वर्षभन्दा पुरानो जानकी मन्दिरको मूल ढोका बन्द गरिएको थियो । मूल ढोका खुलेसँगै सर्वसाधारणको चहलपहल समेत बढेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे त्रास एवं लकडाउनका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिरको मुलढोका ८१ दिनपश्चात आजदेखि सर्वसाधारणका लागि खोलिएको हाे । कोरोनाको संक्रमणको खतरालाई मध्यनजर गर्दै मन्दिरमा भीडभाड हुन नदिनका लागि चैत १५ गतेदेखि मन्दिरको मूलढोका सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

लकडाउनको अवधिमा मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती जारी रहे पनि मन्दिरको मूलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको थियो ।

सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलोपटक सर्वसाधारणका लागि मूलढोका ८१ दिनसम्म बन्द गरिएकाेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए ।

महन्थ दासले सामाजिक दूरीको पालना गराउनतर्फ स्थानीय प्रशासनले पहल गरिदिन र दैनिक सेनिटाइज गर्ने व्यवस्था मिलाईदिन जनकपुरधाम उपमहानगरपालिका सँग आग्रह गरेका छन्।