प्रदेश ५

भालुवाङको राप्ती सामुदायिक वनमा व्यायामशाला निर्माण गर्ने नाममा वन अतिक्रमण

By Thah Online

June 18, 2020

महेश रिजाल / ओमप्रकाश गुप्ता , भालुवाङ ४ असार । दाङ देउखुरीको राप्ती सामुदायिक वन भालुवाङमा वन अतिक्रमण भएको छ । राप्ती गाउँपालिकाको अगुवाईमा राप्ती गाउपालिका वडा नम्बर १ का केही ब्यक्तिहरुले ब्यायामशाला निर्माणका लागि चालु अार्थिक वर्षमा ४ लाख ५० हजार रूपैयाँ अनुदान स्वीकृती भएको र सो ब्यायामशाला निर्माणका लागि डिभिजन वन कार्यालय लमही, राप्ती गाउँपालिका, सव डिभिजन वन कार्यालय मसुरिया र सम्बन्धित राप्ती समुदायिक वन उपभोक्ता समुह संग कुनै सहमती र अनुमती नलिई अबैध रुपमा डोजर लगाई वनको जग्गा सम्याउदै गर्दा सव डिभिजन वन कार्यालय राप्ती गाउँपालिका मसुरियाले उक्त कार्य रोकिदिएको छ ।

यस सम्बन्धमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र वडा नं. १ का वडा अध्यक्ष ताराबहादुर डिसी. संग सम्पर्क गर्दा आफुहरुको काम वडाबासीले आवश्यक अनुदान माग गरे दिने र ठाउँ छनोट गर्ने जिम्मा सम्बन्धीत योजनाको निर्माण उपभोक्ता समितिको रहेको बताएका छन् । यस सम्बन्धमा राप्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खिमविक्रम शाह संग सम्पर्क गर्दा आफुले यस विषयमा जानकारी नभएको वताएका छन् ।

राप्ती गाउँपालिका सव डिभिजन वन कार्यालय मसुरियाका निमित्त सहायक वन अधिकृत एवं फरेष्टर निम बस्नेत सँग बुझ्दा राप्ती गाउँपालिका १ भालुवाङ स्थित राप्ती सामुदायिक वनको भालुवाङ प्यूठान सडक खण्डको उत्तर तर्फ उक्त सामुदायिक वनको क खण्डमा मनोमानी ढंगले डोजर प्रयोग गरी सामुदायिक वन सम्माउने कार्य भएको र सो कार्य गाउँपालिकाकै अगुवाईमा भएको देखिएकोले उक्त कार्य अवैध भएको हुँदा सो कार्य गर्नेलाई कारवाही गरिने वताएका छन् ।