छक्क वहादुरले ,२६ वर्ष पछि पुनः पारे छक्क



सैघाली खबर
हुम्ला, २२ मंसिर । मंसिर २२, २०७४(पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट २६ वर्षपछि प्रतिनिधिसभा सदस्यमा दोहोरिएका छन् । तर, उनले वाम गठबन्धनबाट नभई स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका हुन् ।

लामाले प्रतिद्वन्द्वी काँग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतको अन्तरले पराजित गरेका हुन् ।उनले ८ हजार ४ सय ९१ मत ल्याए भने शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् । ०४८ सालमा संयुक्त जनमोर्चाबाट देशभरीबाट जित्ने नौ सांसदमध्ये लामा पनि एक हुन् । त्यतिबेला उनले कांग्रेसका चक्रबहादुर शाहीलाई ८ मतको अन्तरले हराएका थिए ।

एमाले–माओवादीको गठबन्धन बनेपछि सांसद टिकट पाउनेमा उनी आशावादी थिए । तर, माओवादी केन्द्रले पूर्वसांसद छिमीदोर्जे लामालाई उम्मेदवार भएपछि उनी रुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका हुन् । माओवादी उम्मेदवार छिमीले सुरुमा लामालाई मनाउन कोशिस गरे । तर, लामाले छोरी–ज्वाई नाता पर्ने छिमीलाई नै मनाई दिए । त्यसैले आधिकारिक उम्मेदवार छिमी भए पनि एमाले र माओवादीको ठूलो हिस्सा छक्कबहादुरको नेतृत्वमा चुनावचिन्ह कलममा मतदानको आव्हान गर्दै प्रचारप्रसारमा जुट्यो ।

माओवादी केन्द्रले स्वतन्त्र उम्मेदवारलाई कारबाही गर्दै छिमीलाई नै आधिकारिक उम्मेदवार भने पनि अगुवा कार्यकर्ता छक्कबहादुरको पक्षमा लागिसकेका थिए । माओवादी उम्मेदवार छिमीले २ हजार ८ सय ५६ मत ल्याए ।

नव निर्वाचित लामा माओवादी जनयुद्धभर निस्क्रिय रहे । ०६१ सालमा राजा ज्ञानेन्द्रको सरकारमा सहायकमन्त्री मनोनित उनी शान्तिप्रक्रियासंगै पुनस् माओवादीमा फर्किए । उनी दुर्गम क्षेत्र विकास समितिको उपाध्यक्ष र पार्टी पोलिटव्यूरो सदस्य समेत थिए । ०७० को संविधानसभा निर्वाचनमा माओवादीबाट उम्मेदवार समेत भए ।

मानवशास्त्रीका रुपमा परिचित लामा हिमाली जनजातिका अध्येतासमेत हुन् । निर्वाचित भएपछि उनले आफूलाई सहयोग गर्ने मतदातालाई धन्यवाद दिँदै जनअपेक्षा अनुसार काम गर्ने बताए । ‘प्राविधिक रुपमा स्वतन्त्र उम्मेदवारी भए पनि हुम्लाको वाम जनमत नै मेरो जितको आधार हो’ उनले भने,–हिमाली जिल्लाको विकास र समृद्धिका लागि काम गर्नेछु ।

प्रदेशसभा सदस्यतर्फ हुम्ला ‘क’बाट एमाले उम्मेदवार दल रावल विजयी भएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका उनले ७ हजार १ सय ५८ मत ल्याई जितेका हुन् । उनका निकटतम प्रतिद्वन्दी काग्रेसका ठानबहादुर रोकायाले ४ हजार ८ सय ११ मत ल्याए । रावल २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी थिए । २७ हजार ५ सय ७ मतदाता रहेको हुम्लामा २१ हजार ९ सय ९५ मत खसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्