आर्थिक

प्रदेश १ सरकारले सार्वजनिक गर्यो कोरोना नियन्त्रणमा भएको खर्च

By Thah Online

June 23, 2020

विराटनगर / ९ असार

प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएको खर्चको हिसाब किताब सार्वजनिक गरेको छ ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना संक्रमणसँग सम्बन्धित खर्च सार्वजनिक गरेका हुन । उनले खर्च तथा वचतबारे सदनलाई जानकारी गराएका छन् ।

मन्त्री कार्कीले कोषमा जम्मा रकम रु. २९ करोड ५१ लख ७३ हजार रहेकोमा निकासा गरिएको १९ करोड ८२ लाख र वचत रु. ९ करोढ ६९ लाख १ हजार ९ सय ७२ मौज्दात रहेको जानकारी दिएका छन् ।

प्रमुख विपक्षी कांग्रेसले कोरोना नियन्त्रणका लागि हालसम्म भएका खर्च सार्वजनिक गराउन माग गर्दै सोमबारको बैठक अवरुद्ध गरेको थियो । विपक्षीको मागलाई प्रदेशसभा बैठकमा सम्बोधन गर्दै आन्तरिक मामिला मन्त्री कार्कीले मन्त्रालयगत रुपमा खर्च विवरण पेस गरेका हुन्

बाहिरका नागरिकलाई काठमाडौं छिर्न लगाइएको पास सिस्टम र भेदभावलाई सच्याउनु पर्ने विषयमा संघीय सरकारको ध्यानाकर्षण गरिने पनि मन्त्री कार्कीले बताएका छन् ।

कार्कीले प्रदेश सरकारले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापन, स्थानीय तहलाई राहत व्यवस्थापनमा सहयोग, जिल्ला समन्वय समितिलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी र व्यवस्थापन जस्ता शीर्षकमा रकम खर्च भएको जानकारी दिएका छन् ।

कोरोना जनसुरक्षा कोषमा रहेको रकम विभिन्न मन्त्रालयमार्फत् तल पठाइएको बताउँदै उनले मुख्यमन्त्री कार्यालयले रु. ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु. २ करोड, आन्तरिक मामिला रु. १५ करोड ३४ लाख, सामाजिक विकास मन्त्रायललाई रु. २ करोड ४८ लाख ७१ हजार प्रदेश सरकारले उपलब्ध गराएको बताएका छन् ।