सैघाली खबर
रुकुम,२३ मंसिर
प्रतिनिधीसभा सदस्यका लागि पश्चिम रुकुममा वाम गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा भारी मतले विजयी भएका छन् ।
शर्माले निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार बढी मतले पराजित गर्दै विजयी भएका हुन् । अन्तिम मत परिणाम सार्वजनिक गर्दा शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गरेका छन् ।
शर्माका प्रर्तिस्पर्धी कांग्रेसका शाहले भने १५ हजार ६ सय ५९ मत प्राप्त गरेका छन् । प्रतिनिधीसभाको निर्वाचनमा होमिएका शर्मा र शाहको प्रर्तिस्पर्धालाई यसपटक जिल्लामा रोचक तरिकाले हेरिएको थियो । तर, शर्माले भारी मत प्राप्त गर्दै शाहलाई पराजित गरेपछि पश्चिम रुकुममा वाम गठबन्धनले एकलौटी कब्जा गरेको छ ।
यस्तै प्रदेशसभा सदस्यका लागि पनि जिल्लाको दुवै निर्वाचन क्षत्रमा वाम गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् । ६ स्थानीय तह रहेको पश्चिम रुकुममा यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रले सबै तहमा जित दर्ता गरेको थियो ।
माओवादी केन्द्रको बलियो आधार रहेको यो जिल्लामा वाम गठबन्धनको तालमेल भएसंगै वाम गठबन्धनका उम्मेदवारहरु भारी मतले विजयी भएका हुन् । ८४ हजार ३२ मतदाता रहेको पश्चिम रुकुममा ५५ हजार ३ सय ८५ मत खसेको थियो । कुल मतगणना गर्दा ३ हजार ४ सय ७० मत बदर भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।