ठोस निर्णय नहुँदा श्रम अनुमति पाउने भएता पनि वैदेशिक रोजगारीमा जानेहरुको अझै विचल्ली



काठमाडौँ / १४ असार
कोरोना रोकथाम नियन्त्रण गर्न बनेको सीसीएमसीले विदेश जाने तयारीमा रहेकालाई श्रम स्वीकृति दिने निर्णय ग-यो । यो निर्णयबाट धेरै वैदेशिक रोजगारीमा जानेहरु उत्साहित बनेका थिए ।

तर, सरकारले मापदण्ड र प्रक्रियाबारे निर्णय लिन नसक्दा प्रवेषाज्ञा (भिषा) सकिनै लागेकाहरु चिन्तित बनेका छन् । यिनै मध्येका एक हुन् चितवन गीतानगरका ध्रुव सापकोटा। जापानमा काम गर्दै आएका उनी घरविदामा छन् ।

लकडाउनका कारण रोकिएका उनको भिषा सकिन साढे ३ महिनामात्र बाँकी थियो । फर्किने प्रयासमा जुटेका सापकोटाले जापानका लागि चार्टर विमानमा महँगो शुल्क तिरेर टिकट लिए तर श्रम स्वीकृति नभएकाले विमानस्थलको अध्यागमनबाटै उनी फर्किन बाध्य बने ।

सकिनै लागेको आफ्नो भिषा देखाउँदै उनी वैदेशिक रोजगार विभागदेखि श्रम मन्त्रालय र अन्तिममा प्रधानमन्त्री कार्यालयसम्म पुगे । विदेशमा पसिना बगाएर मुलुकका लागि रेमिट्यान्स पठाएर योगदान गरेका उनको पीडा कसले सुन्ने ?

कोभिड १९ विपत्त व्यवस्थापन समिति सीसीएमसीले वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम अनुमति खोल्न निर्णय गरेकै दिनको उनको भिसा सकियो ।

सापकोटा जस्तै चितवनकै कृष्ण खरेलको अवस्था छ । भिषा सकिनै लागेको छ । उनी डेढ महिनादेखि जापान फर्किन भौतारिदै छन् । तर, महँगो टिकट लिदैं विमानस्थलबाट फर्किनुपर्ने उनको पीडा उस्तै छ ।

बागलुङका राजु कडेल, तनहुँका मात्रिका भट्टराईका पनि पीडा फरक छैन । उनीहरुको पुकार न विभागले नै सुन्छ न त मन्त्रालयले । समस्या बढ्दै गएपछि कोरोना महामारी नियन्त्रण समिति सीसीएमसीले श्रम अनुमति दिएर वैदेशिक रोजगारी खुल्ला गर्ने निर्णय गरेको थियो ।

तर, निर्णय भएको एक साता वितिसक्दा पनि न मापदण्ड बनेको छ नत प्रक्रिया नै अघि बढ्न सकेको छ । वैदेशिक रोजगारीमा जानेहरु यही निर्णय सुनेर काठमाडौं आएका छन् तर, श्रम अनुमति पाउनै सकेका छैनन् । वैदेशिक रोजगार विभाग मन्त्रालयबाट निर्णय नै नआएको भन्दै फर्काउने गरेको छ ।

वैदेशिक रोजगार विभाग भने स्वास्थ्य परीक्षण लगायत प्रक्रिया र मापदण्ड नै नभएकाले अनुमति रोक्नुपरेको बताउँदै आएको छ । यता, मन्त्रालयले भने मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै श्रम अनुमति दिन मिल्ने भन्दै पन्छिने गरेको छ ।

१ लाख भन्दा बढी नेपाली रहेको जापानमा अधिकांश कामदार भिषामा गएका छन् । उनीहरुबाट मात्रै बार्षिक ६० अर्ब बढी रेमिट्यान्स नेपाल भित्रिने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्