रुकुम घटनामा प्रदेश-१ को टोलीले गरे स्थलगत प्रतिबेदन सार्बजनिक “प्रहरीको भुमिका फितलो र शंकास्पद”



झापा / १४ असार
रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना जातीय छुवाछुत र भेदभावका कारण नै भएको स्थलगत अध्ययन गरेर फर्किएको प्रदेश–१ का दलित जनप्रतिनिधिले निष्कर्ष निकालेका छन् ।

रुकुमपश्चिम र जाजरकोट गएर फर्किएको टोलीले नवराज विक र मल्ल थरकी युवतीको प्रेम सम्बन्ध र पृष्ठभूमिले हत्याकाण्डको बीउ अन्तर्जातीय प्रेम सम्बन्ध नै भएको ठहर गरेको हो ।उक्त घटना चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र युवतीको परिवारले योजनाबद्ध रूपमा घटाएको निष्कर्ष निकालेको हो ।


‘घटना भवितब्य हैन । घटना हुनुअघि पनि नवराज र उनको प्रेम सम्बन्ध असफल पार्न पटकपटक रोकावट भएको पाइन्छ’ टोलीका सदस्य नवराज शंकर भन्छन्, ‘युवतीका आफन्त इन्द्रबहादुर मल्लले नवराजका बुबालाई फोन गरेर पटकपटक चासो राखेको, यही विषयमा नवराजलाई प्रहरीले स्पष्टिकरण सोधेको , वडाध्यक्षको भनसुनमा पक्रिएको लगायत विषयलाई हेर्दा हत्या योजनाबद्ध भएको छ ।’

घटनाका प्रमुख योजनाकार वडाध्यक्ष नै रहेको प्रतिवेदनमा उल्लेख छ । टोलीले घटनालाई वडादेखि संसदसम्म राजनीतिक संरक्षण दिइएको ठहर गरेको छ । ‘दोषीलाई जोगाउन वडादेखि संसदसम्म राजनीतिक संरक्षण भएको प्रत्यक्ष र परोक्ष रूपमा देखिन्छ’प्रतिवेदनमा भनिएको छ, ‘घटनामा प्राय सबै नेकपासँग सम्बन्धित छन् । संरक्षणमा पनि तीनै पार्टीका नेता डाकछोप र तोडमोड गर्न लागेको देखिन्छ ।’

यस्तै, अदालतले फैसला गर्ने समयसम्म सबुत तथा प्रमाणको रक्षा गर्न जटिल हुने टोलीको ठहर छ । घटनापश्चात प्रहरी, पोष्टमार्टम रिर्पोट र जिल्ला न्यायधीवक्ताको भूमिका गलत भएको दाबी प्रतिवेदनमा छ । ‘प्रहरीको भूमिका फितलो र शंकास्पद छ । पोष्टमार्टम गर्ने क्रममा जिल्ला अस्पताल र अभियोजन पत्र तयार गर्ने क्रममा जिल्ला न्यायधीवक्ताको भूमिका हेर्दा घटना सामान्यकृत गर्न सबै पक्ष योजना बनाएर लागेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

स्थलगत अनुगमनका लागी इलामबाट नवराज शंकर, झापाबाट हुकुम नेपाली, हरी पोख्रेल दर्जी र मोरङबाट उमेश विश्वकर्मा घटनास्थल गएका थिए । उनीहरूले तयार पारेको प्रतिवेदन शनिबार प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमतकुमार कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सार्वजनिक गरे । सो क्रममा मन्त्री कार्कीले समाजमा रहेको सबै खाले विभेद ‘सुखी नेपाली र समृद्ध नेपाल’को विरोधी रहेको बताए । उनले यस्तो जगन्य घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए । यसका लागि मुख्यमन्त्री कार्यालयमार्फत केन्द्र सरकारलाई राय पठाउने बताए । मन्त्री कार्कीले घटना लुकाउन दलका केही नेता लागेको सुनेको बताउँदै यस्तो पाइए पार्टीले नै कारबाही गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर एकको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले घटनालाई तोडमोड नगरि दोषिलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उनले प्रदेश नम्बर एक सरकारले समाजमा रहेको छुवाछुत र सामाजिक कुरुती अन्त्यका लागि आगामी आर्थिक वर्षको बजेटमा बजेटको व्यवस्था गरिएको बताइन् । कार्यक्रममा संविधानसभा सदस्य दिपककुमार कार्की, राष्ट्रियसभाका पुर्व सांसद खेम नेपाली, नेकपा प्रदेश सदस्य एवं दलित संगठन फाँट इन्चार्ज खेमराज सुन्दास, नेकपा प्रदेश कमिटी सदस्य गगन पुरी, राप्रपाका केन्द्रीय सदस्य एवं एक नम्बर प्रदेश अध्यक्ष राम थापा, जिल्ला समन्वय समिति इलामकी उप–प्रमुख चित्रकला बराइली लगायतले ऐक्यबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अध्ययन टोलीका सदस्य उमेश विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संयुक्त राजनीतिक दलित संघर्ष समिति दमकका अध्यक्ष काशी खातीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अध्ययन टोलीले आयोजना गरेको प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमको संयोजन संयुक्त राजनीतिक दलित संघर्ष समिति, झापाले गरेको थियो भने स्थानीय रुपमा व्यवस्थापन दमक संघर्ष समितिले गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्