भोलिदेखि सेयर कारोबार खुला गर्ने नेपाल धितोपत्र बोर्डको निर्णय



काठमाडौं / १४ असार
नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार वैशाख २ गते खुलेको थियो । तर दुई दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार फेरि बन्द गरिएको थियो ।

अब फेरि आवश्यक सुरक्षाका उपाय अपनाएर बजार खोल्ने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । सेयर कारोबार गर्दा लगानीकर्ताले सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहन गरिएको छ ।

नियमित कारोबार सञ्चालनका लागि कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी व्‍यवस्था छिट्टै गर्ने धितोपत्र बोर्डले जनाएको छ ।

सेयर कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोभिड-१९ सुरक्षाका उपाय पालना गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बजार सम्बद्ध संस्थाले स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेको पाइए कारबाही गर्ने पनि जनाइएको छ ।

बोर्डले ब्रोकरहरुले पनि घरबाटै सेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाएको भन्दै सकेसम्म घरबाटै कारोबार गर्न प्रोत्साहन गर्ने जनाएको छ ।त्यस्तै बोर्डले धितोपत्र बजार विकासका लागि लकडाउनको समयमा गरेको झण्डै एक दर्जन सुधारका काम गरेको जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्