विद्यालयमा क्वारेन्टाइन बनाईँदा विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्नसक्ने



काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टाइन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर पर्ने भएकाले विद्यालयभन्दा अन्य स्थानमा क्वारेन्टाइन राख्न सुझाव दिइएको हो ।

हाल करीब २८ हजार सामुदायिक विद्यालयमध्ये चार हजार पाँच सयमा क्वारेन्टाइन र ६४ मा आइसोलेशन कक्ष बनाइएको छ । कतिपय विद्यालयमा व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत थाहा नदिई स्थानीय पालिकाले आफूखुशी तथा जबर्जस्ती विद्यालयलाई क्वारेन्टाइन बनाइएकामा चिन्ता व्यक्त गरिएको हो ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान सिजप का अध्यक्ष नरेन्द्र डङ्गोल सरकारले विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को विपरीत विद्यालयमा यस प्रकारको बोझ थप्न नहुने बताए । बालअधिकारकर्मी कृष्ण सुवेदीले विद्यालयको विकल्प खोजेर होटलहरुलाई क्वारेन्टाइन बनाइएको भए बस्नेहरुलाई पनि सुविधा पुग्ने उल्लेख गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्