बाग्मती प्रदेशले सलह समात्नेलाई प्रतिकिलो ३० रुपैयाँ दिने, विज्ञ भन्छन्– सलह मासुका रुपमा खानयोग्य



काठमाण्डौँ, असार १५
बाग्मती प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह किरा समात्नेलाई प्रतिकिलो ३० रुपैयाँ दिने निर्णय गरेको छ ।

सलह किरा नियन्त्रणका लागि आइतबार मन्त्रालयले सलह समातेर नष्ट गर्न प्रोत्साहन गर्ने उद्देश्यले सलक समातेर ल्याउनेलाई प्रतिकिलो ३० रुपैयाँ दिने निर्णय गरेको हो । यसबाट स्थानीयहरु प्रोत्साही भएर सलह किरा समात्न लागि पर्ने अनुमान मन्त्रालयले गरकेो जनाएको छ ।

मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बाग्मती प्रदेशका ८ जिल्लामा सहल किरा देखिएकाले नियन्त्रणका लागि स्थानीय जनशक्ती परिचालन गर्न प्रोत्साहन रकम दिने निर्णय भएको जानकारी दिए ।

‘सलह किराको संकलन गर्ने व्यक्ति, समूह, संस्था, निजी क्षेत्रहरुलाई ३० रुपैयाँ प्रतिकिलोको दरले रकम दिने सम्बन्धमा कार्यबिधी तयार गर्ने र सो कार्यबिधी आर्थिक तथा योजना मन्त्रालयमा सहमति लिने निर्णय भएको छ’ उनले भने ।

सलह किरा समात्नेलाई पैसा दिने घोषणा गर्ने बाग्मतीको कृषि मन्त्रालय तेस्रो निकाय हो । यसअघि सलह समात्नेलाई प्रदेश ५ ले प्रतिकिलो २० रुपैयाँ र सुदुरपश्चिम प्रदेशले प्रतिकिलो २५ रुपैयाँ दिने घोषणा गरिसकेका छन् ।

शनिबार बिहान नेपाल भित्रिएको सलह किरा सोही दिन साँझबाट सिन्धुली र काभ्रे हुँदै बाग्मती प्रदेशमा देखिन थालेको थियो । सोमबारसम्म बाग्मती प्रदेशका आठ जिल्लामा सलह किरा फैलिई सकेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका र ललितपुरको बाग्मती नगरपालिका– ६, महाकालमा आइतबार दिउँसो ३ बजे सलह किरा देखिएको थियो ।

सलह किरा खान योग्य : विज्ञ
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले मासुका लागि सलह किरा उच्च गुणस्तरको पौष्टिकतत्व भएको बताए ।

‘सलह समातेर खानु स्वास्थ्यका लागि निक्कै फाइदाजनक छ । यसको मासु निक्कै पौष्टिक हुन्छ’ उनले भने, ‘त्यस्तै कुखुरालगायत पशुपंक्षीको दाना बनाउन प्रयोग गरियो भने पनि धेरै फाइदा हुन्छ ।’

पर्सामा आइतबार दिउँसो स्थानीयले भुटेर खाएको जानकारीसमेत आएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

खान योग्य भएको, समात्दाखेरी कुनै संक्रमणको जोखिम नभएको र जति धेरै सलह किरा समातेर राख्न सकियो, उति नै बाली नाली जोगाउन मदत मिल्ने भएकाले नगद प्रोत्साहन दिएर सलह समात्ने अभियान थालएको मन्त्रालयहरुको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्