कृर्षि

कञ्चनमा ५ वडाका २० कृषकलाई हाते ट्र्याक्टर वितरण

By Thah Online

June 29, 2020

प्रिया अधिकारी/असार,१५ असार पन्ध्र अर्थात मानो छरेर मुरि फलाउने दिनको अवसर पारेर रुपन्देहीको कञ्चन गाउँपालिकाले कञ्चन गाउँपालिकाका ५ वटै वडाका २० जना कृषकलाई आवेदनका आधारमा छनोट गरि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत ८०% अनुदानमा यान्त्रिकिकरण हाते ट्याक्टर वितरण गरेको कृषि शाखा प्राविधिक राम प्रसाद अधिकारीले जानकारी दिनुभयो।

कञ्चन गाउँपालिका वडा १का वडा अध्यक्ष हरिनारायण थारुको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण गर्नको लागि हाते ट्याक्टर वितरण गरिएको र यसको सहि सदुपयोग गर्न र फाइदा लिन सके आगामी दिनमा युवाहरु कृषि तर्फ आकर्षित हुने र कृषिमै आत्म निर्भर गर्न भौतिक पुर्वाधारमा कम गरि आगामी वर्षको लागि कृषि क्षेत्रमा विशेष बजेटको व्यवस्था गरिएको र कृषिलाई नै प्राथमिकतामा राखिएको बताउनु भयो।

गाउँपालिका उपाध्यक्ष गोमा तरामु मगरले अहिले विश्वभरि महामारीको रुप लिएको (कोभिड -19) कोरोना भाइरसका कारणले वैदेशिक रोजगारीका लागि गएका युवाहरू रोजगारी गुमाइ नेपाल फर्किन बाध्य भएका युवाहरूलाई कृषिमा आकर्षित गर्न र कृषिमै आत्म निर्भर बनाउन गाउँपालिकाले कृषि प्रणालीमा बजेट ल्याएको र कञ्चनलाई कृषि मैन्त्री बनाइ समृद्ध कञ्चन बनाउन र कृषिजन्य उत्पादनमा जोड दिन आग्रह गर्नु भयो। कञ्चन शाखा प्राविधिक रामप्रसाद अधिकारीको सहजीकरणमा भएको कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख मगरेपाल गडरियाले गर्नु भएको थियो।