राजनिती

भद्रगोल नेकपाः यी हुन् प्रधानमन्त्रीको राजीनामा माग्ने १२ नेता

By Thah Online

June 30, 2020

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि उनीहरूबीचको विवाद उत्कर्षमा पुगेको छ।

प्रचण्डले गत वैशाख १७ गतेको बैठकमै आफूले प्रधानमन्त्री ओलीको राजीनामा मागेको उल्लेख गर्दै अभिव्यक्ति दिएपछि दुई नेताबीचको मनको चिसो अझै बढ्न पुगेको हो। यसैबीच नेकपाको मंगलबार बसेको स्थायी कमिटी बैठकमा १८ जना नेताहरू बोलेका थिए। ती १८ मध्ये १२ जनाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन्।

अन्य ५ जनाले सरकारको आलोचना गरेका छन्। तर, उनीहरूले राजीनामा भने मागेनन्।राजीनामा माग्नेमध्ये अध्यक्ष पुष्पकमल दाहाल पहिलो हुन्। त्यसपछि झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

यस्तै, बेदुराम भूसाल, सुरेन्द्र पाण्डे, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, रघुजी पन्त र पम्फा भूसालले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

अरू पाँच जना नेताले बोले पनि सरकारको आलोचना गरे। उनीहरूले प्रधानमन्त्रीको राजीनामा भने मागेनन्।बैठकमा गणेश साह, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य र नारायणकाजी श्रेष्ठले बोले पनि सरकारको आलोचना मात्र गरे।

बैठकमा प्रधानमन्त्री ओली एक मात्र आफ्नो पक्षमा बोल्ने नेता थिए। यता स्थायी कमिटी बैठक चलिरहँदा दोस्रो पुस्ताका नेताहरूले आन्तरिक छलफल तीव्र पारेका छन्।