खेलकुद

लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कोरोना सचेतना दौड सम्पन्न

By थाहा अनलाइन

July 04, 2020

काठमाडौं / २० असार लव एन्ड सपोर्ट फाउन्डेसनले ‘कोरोना सचेतना दौड’ शनिबार सञ्चालन गरेको छ । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस दिइएको थियो ।

दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए । कोरोना भाइरस (कोभिड– १९) का दौरान २५ जना भन्दा बढी भेला हुन नपाउने नेपाल सरकारको नियमलाई पालना गरी २५ जना मात्र सहभागी गराएर दौड सञ्चालन गरिएको पूर्व धावक समेत रहेका दौड संयोजक बुद्धवीर लामाले जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुका साथै कोरोना भाइरसका दौरान कसरी सतर्क रहने भन्ने सन्देश प्रवाह गर्न दौड आयोजना गरिएको संयोजक लामाले बताउनुभयो ।

कोरोना सचेतना दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयको मुल गेट बाहिरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो । दौडलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । ६० वर्षमाथि उमेरसमूहमा शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो र मंगलदास तण्डुकार तेश्रो हुनुभयो ।

महिला खुला समूहमा याङदी लामा शेर्पा पहिलो, सीता रिमाल दोश्रो र राधा श्रेष्ठ तेश्रो बन्नुभयो । ४० देखि ५९ वर्ष उमेरसमूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्वितीय र दीपककुमार रन्जित तृतीय स्थानमा रहनुभयो। विजेतालाई डा। खगेन्द्रबहादुर श्रेष्ठले प्रमाण पत्र र पदक वितरण गर्नुभएको थियो । सहभागीलाई पनि प्रमाण पत्र र पदक प्रदान गरिएको थियो ।