अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईंदै



सैघाली खबर
काठमाडौं,२४ मंसिर

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको डिसेम्बर १० तारिखका दिन यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिनुभएको छ ।

संविधान कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रुपमा स्थापित गरिएको उहाँले बताउनु भएको छ । शुभकामना सन्देशमा विभिन्न आयोगलाई नयाँ संविधानले संवैधानिक बनाउनुले मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवद्र्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको भनिएको छ । दिवसको अवसरमा हिजोदेखि शुरु भएको मानवअधिकार महाभेला पनि राजधानीमा चलिरहेको छ ।

महाभेला भोलि घोषणापत्र जारी गर्दै समापन हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि समानता, न्याय, लोकतन्त्र, जीवनको स्वतन्त्रता, मानव सम्मान र अधिकारको संरक्षण, संवद्र्धनका लागि सभ्य समाजको आवश्यकता रहेको उल्लेख गर्नु भएको छ । उहाँले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप आम नेपाली नागरिकको मानवअधिकारको सम्मान गर्ने संस्कृतिको विकास गरी समानता र न्यायमा आधारित समावेशी नेपाली समाजको स्थापना गर्न सरकार क्रियाशील रहेको बताउनुभयो ।

शुभकामना सन्देशमा उहाँले सरकार समावेशी विकासद्वारा मानवअधिकार सुनिश्चित गर्न लागिपरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भई कार्य गरिरहेको र ती आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यसै अवसरमा दिनुभएको सन्देशमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले संविधानको परिधिभित्र रही नेपाली जनताको मौलिक अधिकार र मानवअधिकार संवद्र्धन गर्ने क्रममा जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा समेत अविचलित रही कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्