टप फिचर

बिहीबारदेखि ४ दिन याे वर्षकै बढी पानी पर्ने,सतर्क रहन आग्रह

By थाहा अनलाइन

July 09, 2020

काठमाण्डाै /असार २५ नेपालका चार वटा प्रदेशमा चार दिन यस वर्षको सबै भन्दा बढी पानी पर्ने अनुमानका गरिएको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सूचना जारी गर्दै २५ देखि २८ असारसम्म यस वर्षको सबैभन्दा धेरै वर्षा हुने अनुमान गरेको हो।

असार २५ देखि २८ सम्म प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।

सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

शुक्ररबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।

वर्षाकै कारण पहाडमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानको खतरा रहेको प्राधिकरणले जनाएको छ । ‘पहाडी क्षेत्रको खोलानाला तथा खहरेमा बाढी आउने सम्भावना छ । पहाडको माटो लामो वर्षाका कारण गलिसकेको हुँदा पहिरो जान सक्छ । त्यसैले चनाखो रहन आग्रह गर्दछौँ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।