थप रोजगारी सृजना भएन, जोखिमकै बीचमा युवा विदेश जान तयार



काठमाण्डाै /असार २५
विदेशमा कोरोना महामारीको चपेटामा परेर धेरै जना घर फर्कंदैछन् । २० हजारभन्दा बढी त फर्किसके । फर्कन टिकट समेत काट्न नसक्ने अवस्थामा पुगेका श्रमिकको उद्धारका लागि सरकार जुटिरहेका बेलामा फेरि कतिपय युवाहरु तिनै देश जान तयार छन् । यसले देशमा रोजगारीको अवसर र वातावरण अझै छैन भन्ने पुष्टि हुन्छ ।

महामारीका बेलामा सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर ल्याएका योजनाले आकर्षित नगरेको र पालिका स्तरमा नयाँ रोजगारी सृजना नभएको कारणले पनि युवाहरु वैदेशिक रोजगारीमै आकर्षित भएका आप्रवास विज्ञ डा. गणेश गुरुङ बताउनुहुन्छ ।

अहिले खाडीसहित विभिन्न देशबाट हजारौंको सङ्ख्यामा नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश आइरहेका छन् । टिकट काट्नै नसकेर अलपत्र परेकालाई उद्धार गर्न सरकारले कार्यविधि बनाइरहेको छ । यही जोखिमका बीच युवाहरु विदेश जान तयार भएका छन् ।

सरकारले पुनः श्रम स्वीकृति खोलेको चार दिनको अवधिमा एक हजार ७९ जनाले विदेश जानका लागि पुन : श्रम स्वीकृति लिएका छन् ।

यूएईका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै रहेको वैदेशिक रोजगार कार्यालय ताहाचलको तथ्याँकले देखाएको छ। यूएई जानका लागि मंगलबारसम्ममा ५०३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यूएई पछि कतार जाने नेपालीको सङ्ख्या पनि धेरै नै रहेको छ । पछिल्ला चार दिनमा कतार जानका लागि १०५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी मलेसिया जानका लागि ८० जनाले पुन: श्रम स्वीकृति लिएका छन् भने कुवेत जानका लागि पनि श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै नै रहेको छ । ३३ जनाले कुवेत जानका लागि पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै बहराइन जान १७ जनाले, ओमान जान १२ जनाले र माल्टा जानका लागि २९ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै जापान, कोरिया, युगाण्डा लगायत विभिन्न देशमा जानका लागि नेपालीले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

तर गन्तव्य देश पनि जोखिम नै जोखिम छ।खाडीका देश र मलेसियामा मात्रै झण्डै पाँच लाख भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउदी, कतार, यूएई, कुवेत र बहराइनमा त्यहाँ कार्यरत नेपालीमा पनि कोरोना सङ्क्रमण बढिरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्