यी हुन् आज चुनाव हार्ने १२ हेभिवेट ‘बामदेव गौतमदेखि आरजु राणासम्म’



सैघाली खबर
काठमाण्डौ, २४ मंसिर । दुई चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । मतगणना चल्दै गर्दा विभिन्न दलका हेभिवेट उम्मेदवारहरु पराजित बन्न पुगेका छन् ।

आज प्राप्त अन्तिम नतिजाअनुसार नेकपा एमालेका प्रभावशाली नेता, पूर्व गृहमन्त्री तथा बाम गठबन्धनका सूत्राधार बामदेव गौतम समेत बर्दिया क्षेत्र नं। १ बाट पराजित भएका छन् ।

उनको यो पराजयलाई अप्रत्याशित रुपमा लिइएको छ । उनी वर्तमान सिंचाई मन्त्री समेत रहेका सञ्जयकुमार गौतमसँग ७ सय ७५ मतले पराजित भएका हुन् । सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याँउदा गौतमले ४४ हजार ७६ मत ल्याए ।

डा. रामशरण महत
पटक पटक अर्थमन्त्री समेत बनेका र नुवाकोटबाट अविछिन्न रुपमा जित हासिल गर्दै आएका नेपाली कांग्रेसका नेता डा। रामशरण महतले यसपटको प्रतिनिधी सभाको निर्वाचनमा हार बेहोर्नु परेको छ । उनले नुवाकोपट क्षेत्र नं। १ बाट माओवादीका हितबहादुर तामाङ सँग ९ हजार मतान्तरले पराजित भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत ल्याँउदा महतले २७ हजार ९ सय २० मत पाएका हुन् ।

दमननाथ ढुङ्गाना
भक्तपुर क्षेत्र नं।२ मा बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले नेपाली कांग्रेसका पूराना नेता दमननाथ ढुङ्गानालाई भारी मतले पराजित गरेका छन् । एमालेका यूवा नेता बस्नेतले ३६ हजार ४ सय १३ मत ल्याएर बिजयी भएका हुन् । पराजित भएका ढुङ्गानाले १८ हजार ६ सय ३५ मत ल्याएका छन् ।

कमल थापा
मकवानपुर क्षेत्र नं। १ बाट राप्रपा अध्यक्ष कमल थापा पराजित भएका छन् । एमालेका कृष्ण दाहालले ४० हजार ६ सय ३१ मत ल्याँउदा थापाले ३४ हजार ६ सय ५८ मत ल्याएर पराजय भोगेका हुन् ।

अर्जुन नरसिंह केसी
नुवाकोट क्षेत्र नं। २ मा बाम गठबन्धनका उम्मेदवार एमालेका नेता नारायण खतिवडासँग नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी पराजित भएका छन् । उनी १० हजार मतान्तरले पराजित भएका हुन् । खतिवडाले ३६ हजार ८ सय ९२ मत पाँउदा केसीले २६ हजार ३ सय ३५ मत पाएका थिए ।

कृष्णप्रसाद सिटौंला
झापा क्षेत्र नं। ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री समेत कृष्णप्रसाद सिटौला राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनबाट पराजित भएका छन् । बाम गठबन्धनबाट सहयोग पाएका लिङदेनसँग सिटौला एक्लै चुनाव लडेका थिए । आइतबार सम्पन्न मत परिणाम अनुसार लिङदेनले ४४ हजार ६ सय १४ मत ल्याएका थिए भने सिटौलाले ३१ हजार १ सय ५६ मत ल्याएर पराजि त भएका थिए ।

विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका चर्चित यूवा नेता विश्वप्रकाश शर्मा झापा क्षेत्र नं। १ बाट पराजित भएका छन् । माओवादीका नेता राम कार्कीसँग उनले पराजय भोगेका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउर जितको झन्डा गाडेका थिए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याएर पराजित भएका थिए ।

रामचन्द्र पौडेल
तनहुँ क्षेत्र नंं। १ को प्रतिनिधीसभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका हुन् । झन्डै ४५ सय मतान्तरले एमालेका उम्मेदवार किसानकुमार श्रेष्ठले पौडेललाई पराजित गरेका हुन् । विजयी भएका श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका छन् भने पौडेलले २७ हजार ६ सय ७५ मत ल्याएका छन् । पार्टी सभापति र प्रधानमन्त्रीका आकांक्षी रहेका पौडेलको सपनामा यो चुनावले पूर्णबिराम लगाइदिएको छ ।

आरजु राणा देउवा
कैलाली क्षेत्र नं। ५ बाट प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु राणा पराजित भएकी छिन् । उम्मेदवारी दिएलगतै धनगढीमा ३ करोडको घर किनेर चुनावी प्रचारमा जुटेकी राणालाई एमालेका उम्मेदवार नारदमुनी रानाले पराजित गरेका हुन् । रानाले २७ हजार २ सय २ मत ल्याए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।

विमलेन्द्र निधि
धनुषा क्षेत्र नं। ३ बाट प्रतिनिधीसभाको निर्वाचनका लागि प्रतिष्पर्धामा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधी राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित भएका हुन् । निधी महतोसँग २९ सय मतान्तरले पराजित भएका हुन् । निधीले २७ हजार ८ सय ४७ मत ल्याँउदा महतोले ३० हजार ७ सय ५० मत ल्याएका थिए ।

खगराज भट्ट
डडेल्धुराबाट प्रतिनिधीसभाको निर्वाचनमा माओवादी केन्द्रका नेता खगराज भट्ट पराजित भएका हुन् । उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग झन्डै ७ हजार हाराहारी मतले हार्न पुगेका हुन् । देउवा २८ हजार ४४ मत पाएर विजयी भए भने भट्टले २१ हजार १ सय १५ मत ल्याएका छन् । यो क्षेत्रमा देउवाले २०४८ सालदेखि निरन्तर रुपमा विजयी हुँदै आइरहेका छन् ।

दीपकुमार उपाध्याय
भारतका लागि पूर्व राजदुत समेत रहेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय कपिलबस्तु क्षेत्र नं। १ बाट पराजित भएका छन् । बाम गठबन्धनबाट प्रतिष्पर्धामा रहेका माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेवसँग उपाध्याय पराजित भएका हुन् । खनालले २९ हजार ७ सय ९९ मत ल्याएका छन् भने उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याएका छन् ।

यी हुन् आज चुनाव हार्ने १२ चर्चित नेता नारायणकाजीदेखि रवीन्द्र मिश्र सम्म

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्