माओवादी केन्द्रद्धारा बाढी–पहिरोको परेका नागरिकहरुको तत्काल उद्धार,राहत र उपचार गर्न माग (विज्ञप्तीसहित)

नागरिक सेवामा जुट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन


काठमाडौं / २७ असार।
नेकपा (माओवादी केन्द्र) ले अविरल वर्षा र बाढी–पहिरोका कारण देशका विभिन्न क्षेत्रमा धनजनको क्षति हुनुको साथै ठाउँठाउँमा मानिसहरु समस्यामा परेको र घाईते भएको भन्दै सरकार समक्ष तत्काल नागरिकको उद्धार, राहत र उपचारको सहज प्रवन्ध गर्न माग गरेको छ ।

जनताले ठाउँ ठाउँमा समस्या भोगिरेहेको अवस्थामा समेत जिम्मेवारपूर्ण ढंगले उद्धार राहतमा नजुटेको भन्दै आज माओवादी केन्द्रले एक विज्ञप्ती जारी गर्दै त्यस्तो माग अघि सारेको हो ।

माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीद्धारा हस्ताक्षरित उक्त विज्ञप्तीमा देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण सयौं नागरिकहरु समस्यामा परेको अवस्थामा समेत सरकारले उद्धार, राहत तथा जन सेवाको काममा उचित पहल नगर्नु दुखद विषय भएको उल्लेख गरिएको छ ।

सरकारको पूर्वतयारी नहुँनु, नागरिकको जनजीवनप्रतिको उदासिनता, जिम्मेवारीपनको चरम अभावको अवस्थाले थप जनधनको क्षति हुने अवस्थाप्रति आसंका बढाएको भन्दै माओवादी केन्द्रले जोखिमयुक्त क्षेत्रमा तत्काल उचित प्रवन्ध गर्नका लागि सरकारलाई सुझाव दिएको छ ।

विज्ञप्तीमा अगाडी भनिएको छ–‘अप्रत्याशित प्राकृतिक घटनामा ज्यान गुमाउने मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको सिघ्र खोजी र घाइतेहरुको सहज उपचारको व्यवस्था गर्नका लागि नेपाल सरकार समक्ष नेकपा (माओवादी केन्द्र) जोडदार माग गर्दछ ।’

महासचिव बुढाथोकीले नागरिकहरु समस्यामा परेको विषम परिस्थितिमा देशभरका नेता, कार्यकर्ताहरुलाई सेवा तथा उद्धारको पहलमा खटिन निर्देशन समेत गरेका छन । विज्ञप्तीमा भनिएको छ–‘आम जनताहरुको समस्यामा सघाउन तथा उद्धार, पहलमा खटिनका लागि देशभरका नेता, कार्यकर्ताहरुमा निर्देशन गरिन्छ ।’

अविरल वर्षा र बाढी–पहिरोका कारण सिन्धुपलाञ्चोक, लमजुङ, कास्की, म्याग्दी, कालीकोट, जाजजरकोट, रुकुम पश्चिम, नवलपरासी, गुल्मी लगायत जिल्लामा करिब २६ जनाको मृत्यु, ४५ बेपत्ता र सयौं नागरिकहरु घाइते भएको र त्यहाँ उचित प्रकारको उद्धार, राहतको काम हुन नसकेको विज्ञप्तीमा उल्लेख छ ।

मौषम पूर्वानुमान महाशाखाले यसअघि नै आईतबारसम्म बर्षाको सम्भावना हुने बताइसकेको छ । तराईका कतिपय क्षेत्र डुबानमा परेको खबरहरु आइरहेका छन भने पहाडी क्षेत्रमा पहिरोले नागरिक सास्तीमा छन । त्यस्ता जोखिमपूर्ण क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्