हेल्लो सरकार! ठुला ठुला गाडी होईन, हामीलाई अटो चल्ने बाटो भएपनि पुग्छ



दाङ । नेपालमा बाढी पहिरोले गर्दा कयौं नेपालीले ज्यान गुमाए । कतिपय बेपत्ता परे भने कति त घरवार विहीन भएर विपत्तिमा छन् । त्यसमाथी अझै कोरोना कहर । जसले गर्दापनि कतिको ज्यान गयो भने लकडाउन पश्चात् अधिकांश क्षेत्रमा सरकारबाट आउने राहातको कमी कमजोरीले गर्दा निश्चित घर परिवारमा राहात नपुगेको गुणासो उत्तिकै छन् । देश महामारीको संकटमा परेको बेलापनि सत्तामा रहेका ती भरौटे हरु राहातको नाममा ढुकुटी रित्याउन नै कम्मर कसेर लागेका छन् ।
घरघरमा सरकार भन्थे, खोइ त सरकार? आपत बिपत पर्दा सरकारको अनुभूति गर्नपनि सकिदैन भने भयो बरु यो सरकार चाहिएन । बर्तमान सरकारको गतिबिधि त प्रत्यक्ष जनताले देखेका र भोगिरहेका छन् । अझै कतिञ्जेल भोग्नुपर्ने हो हामी जनताले? सरकारलाई त कोरोना ठूलो अबसरका रुपमा प्रमाणित भयो । नाम भने कोरोना, बजेट भने गोजामा । राहातका नाममा विनियोजित बजेट स्थानीय तहसम्म आंउदा त जेहोस चकलेट खान सकिने रहेछ । अझ एकैछिन क्वारेनटाईनको चर्तिकलाको कुरापनि गरौँन । नेपालका प्राय ठाउँमा रहेका क्वारेन्टाइन त मेरो बुझाईमा देखाउनका निम्ति रचिएको चर्तिकला जस्तो लाग्यो । होईन भने त्रिपालमुनी पनि क्वारेन्टाईन हुन्छ र? अझ न खानाको ठेगान छ, न बोरी बिस्तारा पर्याप्त छ, न सेनीटाइजर, माक्स, साबुन केहीको पनि ब्यबस्था देखिएन । उचित ब्यबस्थापन बिना क्वारेनटाईन बनाउनु र बसाल्नुको केही अर्थ छर? त्यसमाथी पिसिआर र आरडिटि चेकजाँचको लागि कनै टुङ्गै देखिएन । चेक गरेर स्वाव पठायो रिपोर्ट आउने ठेगान छैन । त्यत्तिकै समाएर पशु सरह कोच्या छन्, लाम्खुट्टेले मर्ने गरि खुन चुस्नु चुस्या छ यस्तै लापरबाहीका कारणले उल्टै मान्छे बिरामी पो पर्ने हुन् कि! नेतालाई जति कुर्सीकै मोह । सत्ता जोगाउन आपसमा खिचातानी गरिरहेका छन ।
भ्रष्टाचारी दलालले भरेको देश त भयो, अन्यायमा परेकालाई न्याय दिलाउलान भन्दा धरौटी पैसाले ढुकुटी भर्न खोज्छन् । अझै खल्ती खाली भयो रे देशको विकास गर्ने विभिन्न बहानामा भ्रष्टाचारी mcc को प्रतीक्षा गरिरहेका छन् । भ्रष्टाचारीहरू जस्तोसुकै तन्त्र मत्र आएपनि बेसाहारा गरिबी र अन्यायमा परेकाहरूको कहिल्यै दिन नफर्किने भयो । बरू दुःख पीडामा परेकालाई सहयोग गर्ने भनेको नै तपाईहरू हो, जसले देशविदेशबाट चर्को घाममा खुनपसिना बगाएर आ-आफ्नो संघ संस्था मार्फत अमुल्य सहयोग गरिराख्नु भएको छ तपाई सबैलाई मेरो नमन छ । म एउटा सिमानाकाको बासिन्दा भएकोले स्वयम् हाम्रा पीडा र कठिनाई हरु शब्दमा उतार्ने प्रयास गर्दैछु । नाकाबासी हरु दैनिक उपभोग्य सामाग्री खरिदका लागि भारतिय बजारमा निर्भर हुनुपर्ने बाध्यता सबैलाई अबगत छ ।
कोरोना महामारी भन्दा पहिले नाका खुल्ला थियो र हामीलाई दैनिकी जीवनयापन गर्न कुनै कठिनाइ थिएन । करिब १५/१६ किलोमिटरको यात्रा गरेर आफूलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामानहरू किनमेल गरि दैनिकी गुजारा चलाईन्थ्यो । तर पछिल्लो अवस्थामा लकडाउनका कारण सिमानाका हरु सबै बन्द छन् । जसले गर्दा हामी नाकाबासी हरुलाई थप सास्ती खेप्नु परिरहेको छ । किनकि यहाँबाट नेपालका बजारहरु अत्यन्तै टाढा छन् । ठुला ठुला पहाड, खोला, कान्ला, अोरालो भिरालो छिचोल्दै नेपालका बजार पुग्नुपर्ने सास्ती कम त छैन । त्यहीमाथी यो वर्षाको समय । यातायातको सुबिधा त झन नाकाबासीका लागि आकाशको फल आँखा तरी मर भनेजस्तै हो । नेपाली बजारमा किनमेलका लागि जाँदा ३ दिन समय लाग्ने मेरो अनुभव छ ।
एकदिन जान, एकदिन आउन र एकदिन किनमेल गर्दा तीनदिनमा गन्तब्यमा फर्किन सकिन्छ । तसर्थ अहिले समग्रमा हामीले यसरी आफ्नै नेपालमा किनमेल र मेडिकल चेकजाँच गर्नलाई पनि अप्ठेरो महसुस भईरहेको छ । यदि गईयो भनेपनि सुरक्षाकर्मीका अनेकौ प्रश्नले मननै खिन्न भईदिन्छ । यस्तो लाग्छ हामी भिआईपी जागिरका लागि अन्तरबार्तामा छौँ । हेल्लो सरकार! हामी नाकाबासीले सरकारको अनुभूति गर्न पाउने कहिले हो? यसो भन्दा शहर बजार जस्तै हामीलाई सेवा सुबिधा चाहियो भनेर भन्न खोजेको चाहीँ कदापी पनि होईन । कमसेकम अलिकती भएपनि नाकाबासीका लागि बिकाशको अनुभूति होस् । हामीलाई सडक पिच होईन, बाटोघाटो चौडा सँगै ग्राभेल भएपनि पुग्छ ।
हामीलाई ठुला ठुला बस ट्रक होईन, अटो चल्ने बाटो भएपुग्छ । हामी त्यही अटोलाई पनि भिआईपि चढ्ने गाडी सम्झेर यात्रा गर्न सक्छौ । हामीलाई भारतिय सिमकार्ड होईन, नेपाली सिमकार्ड चलाउन रहर छ । हेल्लो सरकार! जिवजन्तु सँगै एउटै मुहानको पानी हैन, हामीलाई छुट्टै मुहानको पानी पिउने रहर छ । स्वास्थ्य चेकअपका लागि भारतिय स्वास्थ्यकर्मी होईन, हामीलाई हाम्रै नेपाली स्वास्थ्यकर्मी सँग आफ्नो स्वास्थ्य जचाउँन धोको छ । हामीलाई भारतिय नोट होईन, प्रशस्त नेपाली नोट हेर्न धोको छ । सरकार! हामी सिमानाकामा बस्छौ, हामी नेपाली त हौनी? >> भीम बहादुर घर्ती मगर राजजपुर गाउँपालिका ६ सिमानाका, दाङ्ग हाल युएयी बाट ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्