इन्धनको मूल्य वृद्धि विरुद्ध नेविसंघको प्रदर्शन




काठमाण्डौँ, असार २८
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ । नेविसंघका विद्यार्थी नेताहरुले बबरमहलमा आइतबार प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’ सहितका नारा लगाएर बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले निगमको कार्यालय घेराउ गरी नारा लगाएका हुन् ।

सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सर्वसाधारण जनता मारमा परेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुको माग छ । सरकारले पछिल्लो पटक शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ छ ।

कोरोना भाइरसको संक्रमण काठमाडौँ उपत्यकामा पछिल्लो समय बढी देखिएको भन्दै जोखिम रहेकाले सचेतता अपनाउन विज्ञले आग्रह गरिरहेका छन् । तर विभिन्न पक्ष र समूहले दिनहूँ जसो प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

प्रधामन्त्री ओलीको समर्थनमा हुँदै गरेको प्रदर्शनपछि अब नेविसंघले मूल्य वृद्धिको विरोधमा आन्दोलन थालेको हो । नेविसंघका आन्दोलनकारीले मास्क लगाएको भए पनि सामाजिक दूरी कामय भएको छैन । यस्तै मास्क लगाएकाहरुले पनि मुखमा नभई च्यापुमा झारेको देखिन्थ्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्