सामाजिक बिकाशको अवरोध नै वर्ण व्यवस्था हो : छवि श्रीपाली




छवि श्रीपाली
करिब चारहजार बर्ष पहिले देखि सुरू भएको वर्ण व्यावस्था हालसम्म पनि हाम्रो समाजमा अझै अभ्यास हुदै आइरहेको छ । एक्काइसौ शताब्दीको विज्ञान र प्रविधिको युगमा पनि हाम्रा सामाजिक व्यवहारहरू चारहजार बर्ष पुरानो नीति शास्त्रबाट निर्देशित हुदै आइरहेको छ। अझै पनि धारा छोएको निहुँमा , चुलो छोएको निहुँमा , फरक जातमा बिहे गरेको निहुँमा आदि अनेक बहानामा दण्ड जरिवाना गर्ने देखि हत्या गर्ने सम्मको श्रृङ्खलाहरू बारम्बार दोहोरिदै र हुदै आइरहेका छन। संवैधानिक रूपमा छुवाछुत तथा सबैखाले सामाजिक विभेदहरू अन्त्य भईसकेका छन तर व्यावहारिक रूपमा जस्ताको त्यस्तै छ । चरम सामाजिक विभेदको कारण निश्चित लिङ्ग र समुदाय निरन्तर सामाजिक बहिष्करण र अपमानमा परिरहेको छ।

वर्णव्यावस्थाको सुरूवात गर्नुको एउटै उदेश्य समाजमा सामाजिक इकाईहरू बिच राजनीतिक रूपमा एकता निर्माण हुन नदिएर शासक वर्गको स्वार्थलाई सुरक्षित राख्नु देखिन्छ। वर्णव्यावस्थाले आम जनतालाई चेतना शून्य बनाएर शासक वर्गबाट निरन्तर शोषण र दमन गर्न सहयोग गर्दै आएको छ । यसले निश्चित वर्ग, समुदाय र लिङ्गलाई ज्ञान निर्माण र हस्तान्तरण प्रक्रियामा पूर्णरूपमा निषेध गरेको छ । ज्ञान निर्माण र हस्तान्तरण नहुदा हाम्रो समाज सदियौ देखि चेतना शून्य भयो र यसले समाजलाई गति शुन्य बनायो । समाज अग्रगमनतिर जान सकेन र जसको परिणाम समाज चरम पछौटेपनबाट गुज्रिरहेको छ ।

वर्णव्यावस्था भित्र कोही जन्मदै शासक बनेर जन्मिन्छन र कोही जन्मिदै सेवक बनेर । यसले निश्चित लिङ्गमा जन्मिनेलाई शासक भन्यो र इतर लिङ्गमा जन्मिनेलाई सेवक। यसले समाजमा तहगत विभेद निर्माण गरेको छ ।जन्मिदै शासक र सेवक बन्नु पर्ने अप्राकृतिक व्यवस्थाको कारण समाजले थुप्रै असक्षमहरूको शासन बेहोर्न पर्ने स्थितिको निर्माण भयो। जसको कारण समाज विकासमा गतिरोध उत्पन्न भएको देखिन्छ।

वर्णव्यावस्थाको आडमा शासक वर्गले आफ्नो राज्यसत्ताको विरुद्ध विद्रोह हुन नदिन र सदियौसम्म आफु विरुद्धको विरोधको स्वरहरूलाई निस्तेज पार्न तहगत विभेदको पर्खाल निर्माण गर्यो। एउटा समुदायले अर्को समुदायलाई पुरै घृणा र निचताको दृष्टिले हेर्ने परिस्थिति निर्माण गरेको छ जसको कारण सामाजिक अन्तरघुलन र अन्तरक्रियाहरूलाई पुरै निषेध गरेर समाजलाई बन्धक बनाइराखेको छ । निषेध गर्नु भनेको समाजलाई यथास्थितिमा राख्नु हो र अग्रगमन तिर जान नदिनु हो ।

सतही रूपमा हामीले छुवाछुत तथा अन्य परम्परागत विभेदहरूमा सामान्यत: खाना बारेको , पानी नचलाएको र धार्मिक संस्थाहरूमा निषेध गरेको देख्छौ तर यसलाई गम्भीर रुपमा हेर्दा यसको सम्वन्ध शासक वर्गको वर्ग स्वार्थसँग जोडिएको छ । शासक वर्गले आफ्नो शासकिय शक्तिलाई अविछिन्न राख्न लादिएको दमनकारी नितिहरूको समष्टि रूप विभेद हो । हामी, हामी भन्दा कथित सानो जात भन्दा ठुलो देखिएकोमा रमाईरहेका छौ। हामी भन्दा कथित ठुलो जात हामीलाई सानो बनाउन पाएकोमा रमाएका छन् जसले हामी विच एक आपस प्रतिको घृणाको भावनालाई संरक्षित गरिरहेको छ । वर्णव्यावस्थाको तहगत उचनिचतामा बसेर हामी ठुलो देखिनुको आत्मारति र सानो देखिनुको लघुताभास पालेर सदियौ देखि शासक वर्गको वर्ग स्वार्थको अभेद पहरेदारी गरिरहेका छौ।

सामाजिक अन्तरघुलन र अन्तरक्रियाहरूले चेतनाको विकास गर्छन। हाम्रो सामाजिक चेतना विकासको प्रमुख वाधक वर्णव्यावस्था हो । यसले सामाजिक ईकाईहरू बिच ठुलो रिक्तता निर्माण गरेको छ । सामाजिक ईकाईहरू विच अन्तरघुलन र अन्तरक्रियाको अभावले हाम्रो समाजले परिवर्तन तिर जाने अवसर सिर्जना गर्न सकेन जसको कारण यथास्थितिवादमा फसिरहनु पर्यो।

वर्णव्यावस्था भित्र पनि थोरै धेरै चेतना निर्माण नभएको होईनन् र सामाजिक अन्तरघुलन र अन्तरक्रियाका प्रयत्नहरू नभएका होईनन् तर ति अत्यन्त न्यून र प्रभाव शून्य थिए। जुन जुन सामाजिक ईकाईहरूमा थोरै धेरै चेतनाको विकास भयो र समानताको आवाज उठाए ति ति सामाजिक ईकाईहरूलाई शासक वर्गले कि जात उत्थान गरेर आफ्नो वर्गमा समाहित गरे कि शासकिय शक्तिको प्रयोग गरेर तिनीहरूको अस्तित्व नै समाप्त पारिदिए। हामीले हाम्रा ऐतिहासिक दस्तावेजहरूमा देख्छौ त्यहाँ कसैको जात उत्थान गरिएको छ । कसैलाई जात पतन गरिएको छ र कसैको अस्तित्व नै समाप्त पारिएको छ । यि सामाजिक अन्तरघुलन र अन्तरक्रियाका प्रयत्नहरू थिए। समाजमा जति पनि विभेदहरू अस्तित्वमा छन ति शासक वर्गको वर्ग स्वार्थको उपजहरू हुन।

शासक वर्गको नितिगत हतियार वर्णव्यावस्था हो । जुन हिजोका शासक र वर्तमानको शासक सबैले प्रयोग गर्दै आईरहेका छन्। वर्णव्यावस्थाले हाम्रो सामाजिक ईकाईहरू विच कहिले पनि एकता हुन दिएन र वर्णव्यावस्था रहुञ्जेल एकता हुन दिने छैन। यसले सामाजिक ईकाईहरू विच सधै अन्तरविरोधहरू निर्माण गर्दै आइरहेको छ। हामी कथित उच र निचको नाममा सधै एक अर्कालाई निषेध गर्दै आईरहेका छौ । हाम्रो एकताबाट हाम्रो साझा शत्रु शासक वर्गको विरुद्ध संघर्ष गर्न चुकिरहेका छौ। हाम्रा आपसी संघर्षको कारण शासक वर्गको स्वार्थ रक्षा गरिरहेका छौ।

फुटाउ र राज गरको नीति अनुसार शासक वर्ग सधै हाम्रो अन्तरविरोध माथि खेलेर हाम्रो सामाजिक एकतालाई छिन्नभिन्न पार्दै आईरहेको छ र आफ्नो शासन सत्ता अविछिन्न राख्न सफल भएको छ । वर्णव्यावस्थाले निश्चित जात , लिङ्ग र समुदायलाई मात्र अगाडी बढ्न दिएको छैन यसले सिङ्गो समाजलाई नै चरम यथास्थितिमा राखिरहेको छ । यो सिङ्गो समाज परिवर्तनको वाधक हो ।

वर्णव्यावस्थाले निर्माण गरेको सामाजिक विभेद सिङ्गो समाज माथिको विभेद हो । यो दलित मात्रको समस्या होईन, यो बाहुन क्षेत्री वा जनजातिहरूको पनि समस्या हो । यो महिलाको मात्र समस्या होईन यो पुरूषको पनि समस्या हो । यो सिङ्गो समाजको साझा समस्या हो ।यो समस्या दलितले गैरदलितहरूलाई गाली गरेर वा महिलाले पुरूषलाई गाली गरेर समाधान हुदैन , न गैरदलितले दलितलाई घृणा गरेर वा पुरुषले महिलालाई अपमान गरेर नै समाधान हुन्छ। यो हाम्रो समाजको भयानक रोग हो । यसले समाजलाई कमजोर बनाउदै आएको छ ।

सामाजिक विभेदको समस्या हाम् सामाजिक विभेदको समस्या हाम्रो साझा प्रयासबाट मात्र समाधान गर्न सकिन्छ । एक्ला एक्लैको प्रयत्नबाट यो अझै जटिल बन्दै जानेछ। समानतलाई केन्दभागमा राखेर तमाम सामाजिक विभेदहरू निर्मूल पार्न हामी अग्रसर हुनु पर्छ। सबैको साझा भूमिकाबाट मात्रै वास्तविक समतामूलक, समृद्ध र उन्नत समाज निर्माण गर्न सम्भव छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्