वागीलाई पाखा लगाउँदै सल्यानमा , वाम गठबन्धनका सबै उम्मेदवार विजयी



 

सैघाली खबर,

सल्यान २५ मंसिर, । वागी उम्मेदवारको चुनौती चिर्दै सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारहरुले प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिट जित्दै ‘क्लिन स्वीप’ गरेका छन् ।

माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ४० हजार ८९७ मतसहित निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

 

बस्नेतका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाहले २५ हजार ७५२ मत पाए । बस्नेत र शाहबीचको मतान्तर ११ हजार १३० छ ।
बस्नेतविरुद्ध माओवादीबाटै उमाकान्त शर्माले वागी उम्मेदवारी दिएका थिए ।

पहिलो र दोस्रो संविधानसभामा पनि विजयी बस्नेतले प्रतिनिधिसभाको चुनावसमेत जित्दै ह्याट्रिक पूरा गरे । उनका अगाडि उमाकान्त निरीह देखिए ।

प्रकाश ज्वाला र गुलाबजंग शाह पनि विजयी

प्रदेशसभामा पनि वाम गठबन्धनकै उम्मेवारहरु विजयी भएका छन् ।

प्रदेशसभा ‘ख’मा एमाले नेता प्रकाश ज्वाला निर्वाचित भएका छन् । ६ नम्बर प्रदेशको मुख्यमन्त्रीको दावेदारसमेत रहेका ज्वालाले १९ हजार ८३६ मत पाए । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत पाएका छन् ।

प्रदेशसभा ‘क’मा एमालेका गुलाबजंग शाह १९ हजार ६५८ मतसहित आइतबारै विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका छन् ।

गुलाबजंगविरुद्ध पनि माओवादीका भिमप्रकाश शर्माले वागी उम्मेदवारी दिएका थिए । शर्माले ७ हजार ४१६ मत पाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्