Banner Third

पशुपतिनाथको दर्शन खुला गर्ने तयारी गर्न पर्यटन मन्त्रि योगेश भट्टराईको निर्देशन

By थाहा अनलाइन

July 12, 2020

काठमाडौं / २८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड–१९ को त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

आइतबार सम्पन्न पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री योगेश भट्टराईले उक्त निर्देशन दिएका हुन् ।

मुलुक विस्तारै विश्वव्यापी महामारी कोभिड–१९ को त्रासबाट माथि उठ्दै गरेको र विस्तारै सार्वजनिक सवारी साधनहरू पनि चल्न थालेको बताए।

मन्त्री भट्टराईले निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने तयारी थाल्न कोषका पदाधिकारी, सदस्य तथा कर्मचारीलाई निर्देशन दिएका हुन्।

कोभिड–१९ को फैलिन नदिन लकडाउन जारी भएसँगै पशुपतिनाथको नित्य पूजामात्र हुँदैआएको छ । त्यस क्षेत्रमा सर्वसाधारणलाई पूजाआजा र आउजाउ बन्द गरिएको छ ।

कोषले मन्दिरको बाहिरी ढोकादेखि भित्रको मुख्य मन्दिरसम्म जाने र फर्किने अलग-अलग र्‍याम्प विस्तार गरेको छ । भक्तजनलाई फूल, प्रसाद नलिई भौतिक दूरी कायम गर्दै मूल मन्दिरको र्‍याम्पबाट दर्शन गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।