समाचार

सरकार भन्छ– आन्दोलनको बेला होइन, गाडी चलाउनुस् , व्यवसायी भन्छन् –किस्ता कसरी तिर्ने ?

By Thah Online

July 13, 2020

काठमाडौँ । सरकारले यातायात व्यवसायीलाई सार्वजनिक गाडी चलाउन आग्रह गरेको छ । आन्दोलनका बेलामा जस्तो विभिन्न माग राख्दै पूरा गर्न दबाब दिने र सम्झौता गर्ने बेला नभएको सरकारले स्पष्ट पारेको छ । साथै सरकारले यातायात व्यवसायीका सबै माग पूरा गर्न सकिन्छ कि सकिंदैन भन्नेतर्फ पनि विचार गर्न आग्रह गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले विभिन्न माग राखेर गाडी चलाउँदैनौ भन्नु व्यवहारिक नहुने बताए । यातायात व्यवसायीसँगको भेटमा उनले भने, ‘यो आन्दोलनको बेला होइन, दबाब नदिनुस् गाडी चलाउनुस् ।’

सरकारले सबै क्षेत्रका व्यवसायीहरुलाई समान व्यवहार गर्ने भएकाले अरु क्षेत्र खोलिसक्दा यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै सञ्चालन गर्न भन्न नहुने मन्त्री नेम्बाङको भनाई छ । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको चार दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाएका छैनन् ।

विभिन्न माग राख्दै यातायात व्यवसायीले हिजो मन्त्री नेम्बाङलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । यातायात व्यवसायीहरुले आफूहरुसँग कुनै छलफल नगरी सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारको सहयोग बिना गाडी चलाउन नसकिने बताए ।

व्यवसायीहरुले पुनर्कर्जा कोषमा यातायात व्यवसायीको पहुँच, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राख्दै आएका छन् । सरकारले गएको बिहीबार बाहिरी जिल्लामा एक जिल्लाभित्रै र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउन पाइने निर्णय गरेको थियो ।