बैदेशिक रोजगार

उद्धार उडानबाट १६७ वटा शव नेपाल ल्याइयो

By थाहा अनलाइन

July 13, 2020

काठमाडौं / २९ असार। लकडाउनपछि सरकारले सुरु गरेको अलपत्र परेका नेपालीको उद्धार गर्ने क्रममा जेठ २८ देखि असार २८ सम्मको अवधिमा भएका चार्टर उडानबाट १ सय ६७ वटा नेपाली नागरिकको शव नेपाल ल्याइएको छ ।

छाउनीस्थित कोभिड–१९ सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार यो एक महिनाको अवधिमा विदेशबाट नेपाली नागरिक फर्काउने क्रममा श्रम गन्तव्यबाट १ सय ६७ वटा शव पनि नेपाल ल्याइएको हो ।

यो अवधिमा २५ वटा मुलुकबाट करिब एक दर्जन वायुसेवाले १ सय ७५ वटा चार्टर उडान भएका थिए । ती चार्टर उडानले ८ वटा मध्यपूर्वी मुलुकबाट १ सय ६७ वटा नेपाली नागरिकहरुको शव ल्याएका थिए ।

यस अवधिमा साउदी अरबियाबाट ५९, मलेसियाबाट ४१, कतारबाट ४१, यूएईबाट १०, बहराइनबाट ६, कुवेतबाट ८, माल्दिभ्सबाट १ र ओमनबाट १ गरी १ सय ६७ वटा शव ल्याइएको हो । सीसीएमसीका सचिव महेन्द्र प्रसाद गुरागाईंले अझै कतिपय श्रम मुलुकबाट शव ल्याउन बाँकी नै भएको बताउनु भयो।

यो अवधिमा विभिन्‍न मुलुकमा अलपत्र परेका २७ हजार ५ सय ३२ नेपाली नागरिक नेपाल फर्केका छन् ।