‘दिनमा एउटा अनलाइन दर्ता हुन्छ, कति अनलाइन चाहिने हो हामीलाई ?’- सञ्चारमन्त्री



काठमाण्डौँ, असार ३०
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अनलाईन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् ।

अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताए । सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थमन्त्री समेत रहेका खतिवडाले गुणस्तरिय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘‘एक दिनमा एउटा अनलाईन दर्ता हुने गरेछ यसरी कसरी होला ? कति अनलाईन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाईन चाहिने हो कि ? क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराई र चौडाईमा जाने हो की संख्या मात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाडी बढ्नुपर्छ ।’’

खतिवडाले कोरोना संक्रमणका कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताए । बैंकहरुबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्