आज प्रधानमन्त्रीको निर्वाचन, दुई चरणमा संसद बैठक बस्ने ।।



 

samsad-5

जेष्ठ,२३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । आज व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि सत्तामा फर्किन लाग्नु भएको हो । गणतन्त्रका १० वर्षमा १० औं प्रधानमन्त्रीका रूपमा उहाँ आज संसद्बाट निर्वाचित हुनुहुनेछ । प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा चारबुँदे सहमतिपछि संसद् खोल्न प्रतिपक्षी एमाले तयार भएसँगै आज प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो । आज दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीमा देउवा एक्ला उम्मेदवार हुनुहुन्छ । संसद्को बैठक दुई सत्रमा सञ्चालन हुने भएको छ । पहिलो बैठकमा प्रमुख तीन दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्नेछन् । त्यसपछि सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको निर्वाचनका लागि राष्ट्रपतिको पत्र पढ्नु हुनेछ । यसबीचमा संसद् सचिवालयले अगाडि बढाएको प्रक्रिया र देउवाको मनोनयनपत्र दर्ता भएको विषय पनि सभामुख घर्तीले संसद्लाई जानकारी गराउनुहुनेछ र पहिलो सत्रको बैठक सकिनेछ । दोस्रो सत्रको बैठकमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु हुनेछ । संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गर्नुहुनेछ । प्रधानमन्त्रीमा निर्वाचित हुन मत विभाजन गर्दा संसदमा तत्काल कायम कुल पाँच सय ९३ सदस्य संख्याको बहुमत दुई सय ९७ मत ल्याउनुपर्ने हुन्छ । देउवाको पक्षमा स्पष्ट बहुमत पुगिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्