टप फिचर

रुकुम घटना : थप चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

By थाहा अनलाइन

July 15, 2020

जाजरकोट / ३१ असार। गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका चार अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।

जिल्ला अदालत रुकुम पश्चिममा मंगलबार भएको थुनछेक बहसपछि भएको आदेशमा चार अभियुक्तलाई थुनामा राख्ने आदेश भएको जिल्ला अदालत रुकुम पश्चिमका निमित्त श्रेस्तादार लक्ष्मण विकले जानकारी दिए।

मंगलबार नै जिल्ला अदालतमा हाजिर भएका चार अभियुक्तलाई बयान र थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको हो। चौरजहारी नगरपालिका ८ रुकुम पश्चिमका तुलराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्तीलाई पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश भएको हो।

यो सँगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जना मध्ये ३० जना पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि जातीय विभेदकै कारण गाउँलेले आक्रमण गर्दा ६ जनाको ज्यान गएको थियो।