पर्साको ठोरीमा राम र सीताका प्राचीन अवशेष भेटियो



बीरगञ्ज / ३१ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या पर्सा जिल्लाको ठोरीमा पर्छ, भनेर अभिव्यक्ति दिएसँगै नेपाल र भारत दुवै देशमा खैलाबैला मच्चिएको छ ।

यसैबीचमा अनुसन्धानका क्रममा पर्साको ठोरी गाउँपालिका–५ स्थित ठोरी भन्सार टोलदेखि पश्चिम दक्षिणतर्फ रहेको सुमेरु पर्वतमा सीताको गुफा तथा केही प्राचीन अवशेषहरु भेटिएका छन् ।

ठोरी भन्सार टोल नजिकैबाट बगेको ठुटे खोलासँगै जोडिएको ठूल्ठूला चट्टानसहितको सुमेरु पर्वतको बीच भागमा सीताको प्राचीन गुफा भेटिएको हो । गुफासँगै सीताले त्यहाँ तपस्या गर्ने क्रममा विताएका दिनहरुको बखत रहेका कुण्ड, प्राचीन घडा, प्राचीन शिवलिंग लगायतका अवशेषहरु भेटिएका हुन् ।

माता सीता जनकपुरबाट पर्साको ठोरीमा आएर त्यही गुफामा रही तपस्या गर्ने गरेकी र सोही क्रममा पूजा गर्नका लागि ढुँगाको ठूलो चट्टानमा आफैले बनाएकी शिवलिंगको अवशेष भेटिएको हो ।

उक्त शिवलिंगको बीचको भाग फुटेर हराइसकेको अवस्थामा छ, भने त्यही नदी छेउमै सुमेरु पर्वतको तल्लो भागमा भगवान राम तथा सीताले पिउने गरेको पानीको कुण्डको अवशेष अहिलेसम्म सुरक्षित नै रहेको छ ।

यसो झट्ट हेर्दा सानो खाल्टो जस्तो देखिएपनि चट्टानै चट्टानले बनेको करिब १० फिट गहिरो र दुई मिटर गोलोका आकारको कुण्ड अहिले पनि त्यही छ । उक्त कुण्डमा कुनै पनि महिनामा पानी नसुक्ने गरेको स्थानीयहरुको भनाइ छ ।

उक्त कुण्डको साथमा खोला वरिपरि ठूल्ठूला चट्टानले बनेको विभिन्न भगवानको मुर्तिहरुको अवशेष पनि रहेको छ । उक्त अवशेषहरुबाट पनि भगवान रामको जन्मभूमि पर्साको ठोरी नै भएको त्यहाँका स्थानीयहरुको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्