पहिरोबाट देशभर ९७ जनाले ज्यान गुमाए, ४३ जना अझै बेपत्ता



काठमाडौं / ३१ असार।
मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन्।

पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राप्त विवरणअनुसार जेठ ३० देखि असार ३१ गतेसम्म पहिरोका कारण ८३ जना घाइते भएका छन्। एक महिनामा चट्याङका कारण १७ जनाले ज्यान गुमाएका छन्।

मुख्यतः पहिरोले पर्वत, बझाङ, सिन्धुपाल्चोक, पाल्पा, गुल्मी, जाजरकोट, तनहुँलगायत जिल्लामा बढी क्षति पुर्‍याएको छ।

बाढी र डुबानका घटना भएपनि त्यसले ठूलो मानवीय क्षति भने गरेको छैन।

पछिल्लो २४ घण्टामा मात्रै मुलुकका विभिन्न सात स्थानमा पहिरो, आठ स्थानमा अविरल वर्षा भएको छ।

एकदिनमा मुलुकभर कूल विपद्जन्य घटना २१ वटा भएको प्राधिकरणले जनाएको छ।

स्याङ्जाको कालीगण्डकीस्थित खहरे खोलामा बाढी आएको भनी हेर्न जाँदा पहिरोमा परेर ६ जना पुरिएकोमा तीनजनाको मृत्यु भएको, एकजना बेपत्ता भएको र दुईजना घाइते अवस्थामा फेला परेको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्