दाङमा कुवेत र दुवईबाट फर्किएका ५ जनामा कोरोना संक्रमण



दाङ / ३१ असार।
दाङमा पहिलो पटक तेश्रो मुलुकबाट आएका पाँच जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरू पाँचै जना बबई गाउँपालिका निवासी हुन्।

बाँकेको भेरी अस्पतालमा मंगलवार गरिएको पिसिआर परिक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण देखिएको हो।

संक्रमित बबई गाउँपालिका वडा नम्बर ६ का ४३ र ३८ वर्षीय, वडा नम्बर २ का २४, वडा नम्बर ३ का २८ र वडा नम्बर ४ का ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बबई गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलले जानकारी दिए। संक्रमित मध्य चार जना कुवेतबाट र एक जना दुवईबाट आएका रहेका छन्।

‘करिव १३/१४ दिन पहिले कुवेत र दुवईबाट आएर उनीहरू क्वारेन्टाइनमा बसेका थिए,’ गाउँपालिका अध्यक्ष पौडेलले भने,‘आज पिसिआर परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको हो।’

उनीहरुलाई लाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको बबई गाउँपालिकाका अध्यक्ष पौडेलले बताए।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ३१ जना पुगेको छ। दाङमा कोरोनालाई जितेर चार सय ७९ जना घर फर्किएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्