Banner Second

गृहमन्त्री र गृहसचिवद्वारा मनमौजी खर्च, गृहमन्त्रीलाई हेलिकोप्टर भाडा

By Thah Online

July 16, 2020

काठमाडौं । सुराकी खर्चका नाममा गृह मन्त्रालयमा रहेको बेथिति बढ्दै गएको छ ।गत आर्थिक वर्षमा गृहमन्त्री र गृहसचिवले सुराकीका नाममा मासिक ६–६ लाख रुपैयाँ खर्च गरेका छन् ।गृहमन्त्रीभन्दा गृहसचिवले धेरै सुराकीका नाममा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ७२ लाख तथा तत्कालीन गृहसचिव प्रेमकुमार राईले एक वर्षमा ७३ लाख नौ हजार रुपैयाँ सुराकीका नाममा खर्च गरेका छन् ।गृहमन्त्रीले एकपटकमा ५० हजार तथा गृहसचिवले २० हजार रुपैयाँ खर्च गर्न पाउने प्रावधान छ ।

तर, एक वर्षमा कतिपटक त्यसरी खर्च गर्न पाउने भन्ने नतोकिएकाले सुराकी खर्च देखाएर बजेट हिनामिना हुने गरेको हो ।यसरी गृहमन्त्री र गृहसचिवले सुराकीका नाममा खर्च गर्न पाउने कानुनी व्यवस्था छैन ।

१३ जेठ ०५० मा भएको मन्त्रिपरिषद्को निर्णयका आधारमा सुराकीका नाममा यसरी खर्च हुने गरेको छ । तर, यस्तो रकम दुरुपयोग हुने गरेको स्रोत बताउँछ ।गृह मन्त्रालयले विपत्को कोषबाट गृहमन्त्रीको हेलिकोप्टर भाडा तिरेको खुलेको छ ।

गोष्ठीमा विभिन्न जिल्ला जाँदा कोषबाट हेलिकोप्टर भाडा तिरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

हेलिकोप्टर भाडामार्फत एक वर्षमा एक करोड ८० लाख ९८ हजार रुपैयाँ खर्च भएकोमा १४ लाख ३६ हजार रुपैयाँ विपत्सँग असम्बन्धित काममा जाँदा भुक्तानी भएको छ । नयाँ पत्रिका दैनिकबाट