रियल मड्रिड एक खेल अगावै ला लिगाको उपाधि जित्न सफल



काठमाडौँ / ०२ साउन ।
रियल मड्रिडले एक खेल अगावै यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जीतेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधी जितेको हो ।

यससँगै रियलले ३४औं पटक ला लिगाको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो । रियलको ला लिगामा यो उपाधि तीन वर्षपछिको हो ।यसअघि सन् २०१६/१७ को सिजन रियलले उपाधि जितेको थियो ।

अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियललाई जीत दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए ।

पहिलो हाफको २९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे । खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा भिल्लाका इबोर्राले एक गोल फर्काएपनि रियल २-१ ले विजयी भयो । यस्तै खेलको इन्जुरी समयमा रियलका मार्कुस एसेन्सियोले गोल गरेका थिए । तर, भीएआरको सहायताले उनको गोललाई रेफ्रीले मान्यता दिएन ।

भिल्लामाथिको जीतसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो । रियलले ३७ खेलमा ८६ अंक जोडेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्