आर्थिक संकटमा सघाउन श्रमजीवी पत्रकार तथा कर्मचारीद्धारा ‘कान्तिपुरलाई दुई रुपैंया राहत’ संकलन

श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनको माग


काठमाडौं, अरुणा मानन्धर /०५ साउन ।
देशकै ठूलो, पुरानो र प्रतिष्ठित सञ्चार गृह ‘कान्तिपुर मिडिया ग्रुप’ ले कोरोना संक्रमणको कारण आर्थिक संकट भोग्नुपरेको भन्दै लामो समयदेखि निरन्तर काम गर्दै आएका श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई कामबाट निकाल्ने, बेललबि बिदामा बस्न दवाव दिने, काम गर्ने वातावरण नबनाउने, तलव कट्टा गर्ने जस्ता श्रमजीवी पत्रकार ऐन विरुद्ध हर्कत गरेको भन्दै संघिय राजधानी काठमाडौंमा सांकेतिक विरोध गरिएको छ ।


कान्तिपुरको लागि दुई रुपैंया राहत संकलन’ गर्दै श्रमजीवी पत्रकार तथा कर्मचारी

कान्तिपुर मिडिया ग्रुपले आर्थिक संकटको बाहना बनाउँदै लामो समयदेखि कार्यरत दर्जनौं श्रमजीवी पत्रकार तथा कर्मचारीहरुमाथि गरेको श्रमजीवी पत्रकार ऐन विरुद्धको हर्कतका विरुद्ध हिजो आइतबार  श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले ‘कान्तिपुरको लागि दुई रुपैंया राहत संकलन’ गर्दै विरोध जनाएका हुन ।

निरन्तरको बर्षाको समेत प्रवाह नगरि उक्त कार्यक्रममा सहभागि पत्रकार तथा कर्मचारीहरुले नयाँ वानेश्वर चोकबाट शुरु गरेको उक्त राहत संकलनको कार्यक्रम बबरमहल, रातोभाले हुँदै माईतिघर मण्डला चोकबाट थापाथली स्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयसम्म चलाइएको थियो ।

बर्षातको पानीले निथ्रुक्क भिजेंका पत्रकार, कर्मचारी तथा अन्य सहभागिहरुले कान्तिपुर मिडियाले आर्थिक समस्याका कारण श्रमजीवी कर्मचारी, पत्रकारहरुलाई तलब दिन नसकेको जनाएकाले आफुहरु देशकै नाम चलेको मिडियाको लागि दुई रुपैंया राहत संकलनको कार्यक्रममा जुटेको भन्दै सडक छेउका व्यापारी, यात्रु, बुद्धिजीवी तथा आम नागरिकहरुसँग सहयोगको अपिल गरेका थिए ।

त्यसरी कार्यक्रममा सहभागिहरुले जम्मा गरेको एकमुष्ट रकम आयोजक संघर्ष समितिका अगुवा श्रीराम वाग्लेको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, प्रदेश सचिव अरुणा मानन्धर, प्रदेश सदस्य शान्ति राई, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य धनञ्जय बुढा लगायतले कान्तिपुर पब्लिकेशनलाई बुझाएको थियो ।

कार्यक्रमको अन्यत्मा कान्तिपुर मिडिया ग्रुपको गेटमा जम्मा भएको राहत रकम बुझाउन एक टिम भित्र गएका थिए भने अर्को टिम बाहिर गेटमै आन्दोलित भएका थिए । राहत बुझाउन कान्तिपुरको कार्यालयमा गएका पत्रकार तथा कर्मचारी संघ, संगठनका अगुवाहरुले कान्तिपुर पब्लिकेशनका प्रशासकिय प्रमुख सुशिल रावललाई हस्तान्तरण गर्दै आन्दोलित पत्रकार तथा कर्मचारीको माग पुरा गर्न आग्रह गरेका थिए ।

राहत रकम बुझाउने क्रममा आयोजक संघर्ष समितिको तर्फबाट श्रीराम वाग्लेले बोल्दै कान्तिपुर मिडियामा देखिएको आर्थिक संकटलाई आफुहरुले सहयोग गरेको भन्दै मिडियामा लामो समयदेखि कार्यरत पत्रकार तथा कर्मचारीहरुलाई मिडिया सञ्चालकहरुलाई पनि हार्दिक र न्यायीक भूमिका खेल्न आग्रह गरे ।

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेवले पनि मिडियामा देखिएको समस्यालाई समाधान गर्नमा मिडिया सञ्चालकहरुले ध्यान दिनुपर्ने भन्दै त्यसका लागि वार्ता, छलफलको वातावरण बनाउन आग्रह गरेका थिए ।

त्यसैक्रममा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि राज्यलाई पहल गर्न आग्रह गर्दै प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले राज्यसंयत्र र मिडिया मालिकको मनमर्जिका कारण श्रमजीवी कर्मचारीको जीवनयापनमा परेको जटिल समस्यालाई महसूस गर्दै समाधानको बाटो खोल्नु पर्ने बताए ।

प्रेस सेन्टरका अध्यक्ष जैसीले कान्तिपुर मिडियाभित्रको समस्या समाधानको लागि पटक पटक दवावमूलक कार्यक्रमहरु गरिएको भन्दै राहत संकलनको कार्यक्रम पनि त्यसैको निरन्तरता भएको बताए । उनले श्रमीकहरुका समस्याबारे छलफल गरेर समाधान खोज्न समेत मिडिया सञ्चालक समक्ष आग्रह गरे ।

कार्यक्रममा सहभागिहरुले जम्मा गरेको राहत रकम बुझाएर जाने क्रममा कान्तिपुर पब्लिकेशनका प्रशासकिय प्रमुख रावलले भने त्यो लिन स्विकार गरेनन । उनले राहत रकम फिर्ता गर्न खोजेको भएपनि संकलनकर्ताहरुले मिडिया सञ्चालकलाई बुझाउन भन्दै कार्यालयबाट बाहिरीएका थिए ।

कान्तिपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिको आयोजनामा कान्तिपुरका लागि राहत संकलन कार्यक्रम गरिएको हो । उक्त संघर्ष समितिमा कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका कान्तिपुर पब्लिकेशन कर्मचारी युनियन, कान्तिपुर पब्लिकेशन कर्मचारी संघ, अखिल नेपाल सञ्चार क्रान्तिकारी मजदूर संघ लगायतको संलग्न रहेको रहेका छन ।

त्यसैगरी उक्त कार्यक्रममा प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस नेपाल, प्रेस संगठन नेपाल, जनपत्रकार संगठन, प्रगतिशिल पत्रकार संघ लगायत विभिन्न कर्मचारी तथा मजदूर संघ, संगठनहरुको एक्यवद्धता रहेको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका प्रदेश तीनका अध्यक्ष सुमन वाङदेल, सचिव अरुणा मानन्धर, केन्द्रीय सदस्य गोविन्दराज नाथ, सदस्यहरु शान्ति राई, रेसु राई, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य धनञ्जय बुढा, करन बडाल, प्रेस संगठन नेपालका माधव नेपाल, क्रान्तिकारी पत्रकार महासंघका सागर श्रेष्ठ, जनपत्रकार संगठन नेपालका शोभराज वराल लगाएतको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागिहरुलाई धन्यवाद भन्दै संयुक्त संघर्ष समितिको तर्फबाट श्रीराम वाग्लेले आफुहरुले काम गरेको संस्थामा देखिएको आर्थिक संकट टार्नका लागि आफुहरुले राहत संकलन गरेर बुझाएको भन्दै श्रमजीवी कर्मचारी तथा पत्रकारहरुका माग कान्तिपुर मिडिया ग्रुपले हल नगरेमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर अघि बढ्ने भन्दै चेतावनी दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्