बस दुर्घटनामा बेपत्ता तीनको शव फेला



सेैघाली खबर,
चितवन, २६ मंसिर। यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो ।
कार्की र थापाको शव घटनास्थलबाट केही तल तथा रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फ कालीखोला किनारमा फेला परेको हो ।

सो घटनामा सात जना बेपत्ता भनिएकामा यसअघि सनाखत गरिएको भनिएका अमरबहादुर शाही नभई नवराज बञ्जाडे रहेको प्रहरीले जनाएको छ ।

परिवारको निवेदनका आधारमा प्रहरीले बञ्जाडेसहित सात जना बेपत्ता भन्दै आएको थियो । बञ्जाडेका साथमा शाहीको परिचयपत्र भेटिएपछि सोही आधारमा सनाखत भनिए पनि सनाखत भएका व्यक्ति शाही नभएर बञ्जाडे भएको प्रहरीले जनाएको छ । शाही काठमाडौँंमै सकुशल रहेको प्रनाउ ढकालले बताउनुभयो ।

उहाँका अनुसार परिवारको निवेदनका आधारमा अझै बेपत्ता भएकामा गैँंडाकोट ३ की कोपिला पोखरेल, अर्घाखाँचीकी हुमकला राहु मगर र अर्घाखाँची रौनामैनाका शंकर कुँवर छन् । बेपत्ता भएका अन्यको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्