विपद पीडितलाई राहत लिएर प्रभावित क्षेत्रमा पुगे नुवाकोटका प्रजिअ ढकाल




नुवाकोट, साउन ८ 
विपद पीडितलाई राहत लिएर प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल आफै पुगेका छन् । बुधबार दुप्चेश्वर गाउँपालिका वडा नं १ मा आगलागी र पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री र राहत रकम प्रदान गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटले दुप्चेश्वर गाउँपालिका, स्थानीय प्रहरी र स्थानीय जनसमुदायसँगको समन्वयमा हिजो बुधबार आगलागीबाट घर पूर्ण रुपमा क्षति भएका दुप्चेश्वर गाउँपालिका वडा नं १ नेगीका संज सिंह तामाङको परिवारलाई उक्त स्थानमा नै गएर टेण्ट लगायतका राहत सामग्री र तत्काल गुजाराका लागि राहत रकम प्रदान गरिएको प्रजिअ ढकालले बताए ।

नेपाल सरकार (मन्त्रिपरिषद) ले मिति २०७७ श्रावण ५ गते प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०६४ लाई समसामयिक संशोधन गरी विपद पीडित उद्धार र राहत सम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ स्वीकृत गरेको छ । उक्त मापदण्डमा अन्य कुराका अतिरिक्त विपदबाट प्रभावित परिवारहरुलाई तत्काल यथासंभव घटनास्थलमा नै राहत रकम उपलब्ध गराउने व्यवस्था गरे अनुरुप कार्य गरेको प्रजिअ ढकालले बताए ।

त्यस्तै, निरन्तरको वर्षाको कारण आएको पहिरोका कारण घर जोखिममा परी विस्थापित भएका दुप्चेश्वर गाउँपालिका वडा नं ७ शिखरबेंशीका ४ परिवारलाई त्रिपाल र राहत रकम समेत प्रभावितलाई पायक पर्ने नजिकैको स्थानमा पुगी प्रदान गरिएको छ । विपदको कठिन अवस्थामा पीडितहरुले राहत रकम र सामग्री प्राप्त गर्न पूरा गर्नु पर्ने प्रक्रियागत झण्झट केहीहद सम्म भए पनि कम गर्न सकियोस् भन्ने उदेश्यले जिल्ला प्रशासन कार्यालयबाट यो प्रयास शुरुवात गरिएको प्रजिअ ढकालले बताए ।

साथै सो क्षेत्रको संभावित विपदको अवस्थालाई मध्यनजर गर्दै पूर्वतयारीका लागि प्रहरी चौकी समुन्द्रटारमा १० थान र इलाका प्रहरी खरानीटारमा ९ थान त्रिपाल प्रिपोजिसनिङ गरिएको छ । यस जिल्लामा विपदबाट प्रभावित परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट यथासंभव प्रभावित क्षेत्रमै पुगी राहत प्रदान गर्ने प्रयास गरिने प्रजिअ ढकालले बताए ।

उक्त कार्यमा सहयोग र समन्वय गर्ने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं सो क्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरु, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र स्थानीय जनसमुदायहरुमा धन्यवाद व्यक्त गरेका छन् । संभावित विपदको अवस्थामा तत्काल खोज, उद्धार र राहत वितरणमा आगामी दिनमा समेत यसै प्रकारको सहयोगको समेत अपेक्षा गरेको प्रजिअ ढकालले बताए ।

साथै प्रजि ढकालले मनसूनजन्य विपदको जोखिम कायम नै भएकोले सबैले सावधानी र सुरक्षा सतर्कता अपनाउँन अनुरोध गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्