मुख्य समाचार

राजपा नेपाल पनि चुनावमा सहभागि हुने, आज सहमतिपत्रमा हस्ताक्षर हुँदै

By थाहा अनलाइन

June 06, 2017

काठमाडौँ, जेठ २३

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल पनि प्रधानमन्त्री चुनावमा सहभागि हुने भएको छ । त्यसका लागि आज मध्यान्ह व्यवस्थापिका संसद भवन बानेश्वरमा नेपाली काँग्रेससँग सहमतिपत्रमा हस्ताक्षर हुँदैछ ।

प्रधानमन्त्रीका लागि आज हुने चुनावमा राजपा नेपालले भाग लिने त्यसअघि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर हुने स्रोतले जनाएको छ ।

देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने मनस्थिति बनाएका राजपा नेपालले नेपाली काँग्रेससँग लिखित प्रतिबद्धता चाहेका कारण आफ्नो निर्णय सार्वजनिक गरेको थिएन ।

पुरानै गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवार देउवालाई यसअघि नै उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले समर्थन जनाई सकेको छ ।

त्यसमध्ये फोरम नेपाल सरकारमा सहभागि हुँदैन भने लोकतान्त्रिक फोरम सरकारमा सहभागि हुने भएको छ । त्यस्तै राजपा नेपाल पनि देउवालाई बाहिरबाट नै समर्थन गर्ने सरकारमा नजाने भएको छ ।