गुल्मीमा करदाता सेवा कार्यालय स्थापना



रमेश विश्वकर्मा, गुल्मी / १४ साउन।
गुल्मीमा करदाता सेवा कार्यालयको स्थापना भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गत जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगपालिका वडा नं. १ क्याम्पसरोडमा उक्त कार्यालय स्थापना भएको हो ।

कर सम्बन्धि सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धि शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु यस कार्यालय मार्फत बुधबार देखि नै सुरु भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिनोद कुमार माझीले बताए ।

पाल्पामा हुने कर सम्बन्धि सम्पूर्ण कामहरु यस कार्यालयबाट नै हुने कार्यालयले जनाएको छ । कर सम्बन्धि हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र सहज बनाउने उद्देश्यले गुल्मीमा करदाता सेवा कार्यालय खुलेको हो । अब जिल्लाभित्रका सेवाग्राहीलाइ सहज हुने छ ।

जिल्लाबासीहरु अबदेखी आय–व्यय विरण, कर दाखिला, प्यान दर्ता, नविकरण, खारेजी लगायतका कर सम्बन्धि कार्यका लागि पाल्पाको तानसेन जानुपर्ने बाध्यता हटेको छ । जिल्लामा करदाता सेवा कार्यालयको स्थापना हुनाले सिङ्गो गुल्मेलीहरुमा खुसी थपिएको छ । व्यवसायीहरुलाई सहज हुनाले व्यवसाय गर्न चाहानेको मनोबल बढेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

व्यवसायीले तिर्ने राजस्व भन्दा जाँदा आउँदाको भाडा बढी लाग्नाले गुल्मेलीलाई मार पुगेको थियो अध्यक्ष भलामीले भने, ‘सामान्य प्रकारको राजस्व तिर्न पनि पाल्पा धाउनुपर्ने वाध्यताले व्यवसायी वाक्क परेका थिए । करदाता सेवा कार्यालय तम्घास मै आउनाले व्यवसायी साथै गुल्मेलीहरुमा खुसी थपिएको छ ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले तिर्नं नपाएको करपनि अब सहज रुपमा तम्घासबाटै तिर्न पाउँदा व्यवसायीहरु हर्षित बनेको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।

करदाता सेवा कार्यालय गुल्मीमा कर सम्वन्धि सबै प्रकारका सेवाहरु प्रदान गरिने छ । अहिलेसम्म सामान्य प्रकारको कर तिर्न पनि गुल्मेलीहरु पाल्पाको तानसेन जानुपर्ने थियो । अब यो वाध्यता हटेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्