भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो, ३४ हजार बढीको मृत्यु



काठमाडौं / १५ साउन ।
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ ।

तर भारतको मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारतको कोरोनासंक्रमणसम्बन्धी सरकारी तथ्यांकमा सन्देह पैदा गराइदिएको छ ।

भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ र थुप्रै क्षेत्रहरुमा लकडाउन लागू गरिएको छ, तर यसै हप्ता मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अरु देशहरुको तुलनामा भारत राम्रो अवस्थामा रहेको’ र अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरिरहेको बताएका थिए ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयको वेभसाइटमा यतिखेर जम्मा संक्रमितको संख्या उल्लेख गर्न छाडिएको छ र निको हुनेहरुको संख्या राख्नमा विशेष जोड दिइएको छ ।

तर बुघबार मात्रै भारतमा ५० हजार नयाँ संक्रमितहरु फेला परेका छन् र ७६८ जनाको निधन भएको छ ।

जोन हप्किन्स युनिभर्सिटीको साउन १५ गते बिहान ५ बजेसम्मको तथ्यांकअनुसार यतिखेर भारतमा संक्रमितहरुको संख्या १५ लाख ३१ हजार ६ सय ६९ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ३४ हजार १ सय ९३ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्