नेपाल एअरलाइन्सका छ चिनियाँ जहाजको उडान बन्द



काठमाडौं / १६ साउन ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आन्तरिक उडानमा रहेका छ चिनियाँ जहाजको व्यावसायिक उडान बन्द गरेको छ।

चिनियाँ जहाज नउडाउने भएपछि अब निगमको आन्तरिक सेवामा दुई ट्वीनअटर मात्रै जहाज छन्।

बन्दाबन्दीको चार महिनापछि शुरु हुन लागेको आन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीले उडान तयारी तीव्र पारिरहँदा निगमसँग भने आन्तरिक उडानका लागि जहाजै अभाव भएको छ।

निगमसँग अहिले भएका १७ देखि १९ सिट क्षमताका दुई जहाजले दुर्गम भेगमा सेवा दिने जनाइएको छ।

पर्याप्त अध्ययनविनै राजनीतिक दबाबमा चीनको एभिक इन्टरनेशनलबाट किनिएका जहाजका कारण आलोचित हुँदै आएको निगमको सञ्चालक समितिको बैठकले साउन १५ बाट यी जहाजको उडान सधैंका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

निगमका अनुसार आन्तरिक उडानमा निगमको अहिले करीब ३ प्रतिशत बजार अंश रहेको छ । चिनियाँ जहाजको उडान बन्द गर्ने निर्णयसँगै यो बजार अंशसमेत थप गुम्ने निश्चित छ ।

चिनियाँ जहाज प्रयोगमा नल्याउने भएसँगै निगमसँग आन्तरिक उडानका लागि तीनओटा ट्वीनअटर विमान छन् । तर, तीमध्ये एउटा ट्वीनअटर मर्मतमै रहेकाले उडान गर्ने अवस्थामा दुईओटा मात्रै रहेको निगमले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्