गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र



गुल्मी / १६ साउन ।
नेपाली काँग्रेस गुल्मीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शर्मालाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय जिल्लामा भएका अनियमितता, ढिलासुस्ती, स्थानीय तहमा राजनीतिक पूर्वाग्रह तरिकाबाट गरेको विभेदपूर्ण निर्णय लगायतका विभिन्न विषयमा र तत्कालीन समसामयिक समस्याको बारेमा जानकारी गराउँदै सभापति श्रेष्ठले प्रजिअ शर्माको ध्यानकर्षण गराएका थिए । गुल्मी जिल्लाका विभिन्न स्थानमा यस वर्ष भिषण वर्षादका कारण आएको बाढी–पहिरोबाट सयौं घरपरिवारहरुले अत्यन्तै कष्टकर जीवनयापन गरिरहेको भन्दै पहाडको भिर पहरा र तल्लो तहका बस्तीहरुमा पछिल्लो पटक विना प्राविधिक डिजाइनमा खोलिएका अव्यवस्थित सडकका कारण पहिरो जाने र परम्परागत रुपमा बग्ने खोला खोल्सीहरु अबरुद्ध भै स्थान परिवर्तन गर्दै उग्र रुपधारण गर्दा यस्तो विषम् परिस्थिती सिर्जना भएको सभापति श्रेष्ठले बताए ।

सभापति श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ‘सयौं घरपरिवार अहिले पनि कष्टकर जीवन बिताउन बाध्य छन् । महिला, वृद्धवृद्धाहरु, रोगी बिरामी र बालबच्चाको अवस्था झनै हृदयविदारक छ । यस्तो असहज परिस्थितीको सामना गर्न सर्वपक्षिय सर्वदलिय सहकार्यबाट मात्र सम्भव छ ।’ तर सत्तामा रहेको स्थानीय तहका जनप्रतिनिधिहरुले विचार र आस्थाका आधारमा पक्षपात पूर्ण व्यवहार गर्नुले झनै चिन्ता थपेको छ ।

सचिव खिलध्वज पन्थीले मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव शुष्मरुपमा फैलिरहेको तथ्य बाहिर आउँदा लकडाउन खुकुलो बन्दै गएको बताए । ‘अत्यन्तै जोखीम हुँदाहुँदै पनि जनजीवन झन सामान्य बन्दैछ ।’ परिक्षणको दायरालाई फराकिलो बनाउन नसक्दा कोरोना भाइरस संक्रमण व्याक्तिबाट समुदाय तहमा फैलिएको आशंका गरिए पनि ठोस रुपमा कदम चाल्न नसकिएको बताए । पटक–पटकको हाम्रो आग्रह र जनताको आवश्यकता बनेको पिसीआर मेसिन तामझामका बिच जिल्ला प्रवेश र हस्तान्तरण गरिए पनि अहिलेसम्म प्रयोगमा आउन नसक्नुले जनताको आशामा तुषारापात भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

एकातर्फ जिल्लामा बाढी–पहिरो, दैवी प्रकोपबाट जनता आहात भैरहेको बेला, कोरोना भाइरस (कोभिड–१९) को महाप्रकोपबाट जनताको जीवन सामान्यीकरण हुन नसकिरहेको अवस्थामा सुरक्षीत आप्रवासन परियोजना (सामी) का लागि आवश्यक कर्मचारी नियूक्तीमा जिम्मेवार स्थानीय तहबाट जनताको सुचनाको नैसर्गीक अधिकार हनन् हुने गरी आफ्ना नातागोता र आफन्तलाई भर्ना गर्ने नियोजीत गोप्य विज्ञापन प्रकाशनले जिम्मेवार राजनीतिक दल नेपाली काँग्रेस गुल्मीको गम्भीर ध्यान आकृष्ट भएको उल्लेख गरिएको छ ।

कोभिड विशेष कृषि कार्यक्रम २०७७ को अनुदान वितरण निर्देशिका विपरित भएकोमा केहि कृषकहरुबाट यस कार्यालयमा जानकारी गराउँदा समेत बेवास्ता गरिएको प्रति गुल्मी काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताईएको छ । पहिरोमा परि घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना र उपचारको व्यवस्था, विपद्पमा परेकालाई निष्पक्ष राहतको व्यवस्था, सिचाई कुलो, विद्युत, खानेपानी र बाटोको सिघ्र सञ्चालन गर्न आग्रह गर्दै दिगो पुर्नवासको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

कोभिड–१९ को प्रकोप व्यापक भैरहेको सन्दर्भमा पिसीआर मेसिन प्राप्तीको प्रचारमुखी अभियान भन्दा पनि यसको समुचित प्रयोग महत्वपूर्ण विषय भएकाले छिटोभन्दा छिटो प्रयोगमा ल्याई परिक्षणको दायरा फराकिलो बनाउन जोड्दार माग गरिएको छ । जिल्लास्थित स्थानीय तहमा सुरक्षीत आप्रवासन परियोजना (सामी) को कर्मचारी भर्ना प्रकृया सुचनाको नैसर्गीक अधिकार हनन् हुने गरी सञ्चालन गर्न लागिएको कथित परिक्षा र अन्र्तवार्तालाई रद्ध गरि सर्वदलिय र सर्वपक्षिय सहमतिमा मात्र अगाडी बढाउन जोड्दार माग गरिएको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आफ्नो ध्यानकर्षण भएको बताए । ज्ञापनपत्र हस्तान्तरणमा पार्टीका जिल्लास्थित नेताहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्