स्थानीयलाई गाली गर्ने गापा अध्यक्ष कठायतलाई उनको पार्टीद्धारा कारवाही गर्ने तयारी



स्थानीयलाई तथानाम गाली गरेर विवादमा तानिएका बझाङको मष्टा गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायत उनको पार्टीले स्पष्टिकरण सोधेको छ । मदिरा पिएर लठ्ठ परेको अवस्थामा स्थानीयलाई गाली गलौज गरेर उनी विवादमा तानिएका थिए । उनी यसभन्दा अघि भ्रष्टाचारको आरोपमा पनि तानिएका थिए ।

अध्यक्ष कठायतलाई २०७५ असार १५ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालोमोसो समेत दलेको थियो । पटकपटक सुझाव दिँदा पनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको नेकपाले जनाएको थियो । तर उनको अहिले पनि व्यवहार भने उस्तै पाइएको छ ।

उनी नेपाली कांग्रेस र ‘विप्लव’का कार्यकर्तालाई धम्की दिने र अश्लिल शब्द प्रयोग गर्दै आएका छन् । भिडियोमा उनले ती वृद्धलाई कुटपिट गर्ने उदेश्यले पटकपटक झम्टिएका छन् र अश्लिल गाली गरेका छन् । कुटपिटको प्रयास गर्दा स्थानीयले छुट्याएको प्रष्ट देखिन्छ । अध्यक्ष कठायतको यो पहिलो घटना भने होइन ।

उनले बेला बेलामा यस्ता हर्कत गर्ने गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी बझाङले ७ दिनभित्र स्पष्टीकरण पठाउन भनेको छ । आज एक विज्ञप्ती सार्वजनिक गर्दै जिल्ला कमिटीले उक्त घटनामा ध्यानाकर्षण भएको भन्दै पार्टीको भदौ ३ गते बस्ने सचिवालयको बैठकबाट कारवाही गरिने जनाएको हो । यसैबिच सोही घटनाको विषयलाई लिएर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै नेविसंघले अध्यक्ष कठायतले गरेको व्यवहारका विरुद्घ आन्दोलनमा उत्रने बताएको छ । नेविसंघले यही साउन २० गते गाउँपालिका अध्यक्षको रवैया विरुद्ध विरोध र्याली निकाल्ने अध्यक्ष बिनोद कठायतले बताए । गाली बेइज्जती सम्बन्धी कसूरको मुलुकी अपराध संहिता, २०७४ को ३०५ मा कसैले कसैलाई गाली गर्न हुँदैन भनिएको छ । उपदफा ९१० को ‘प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ’ भनिएको छ ।

‘अरुको इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तोे व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार गरेमा कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिवाना हुनेछ । मुलुकी अपराध संहिता, २०७४ लाई मान्ने हो भने अध्यक्ष कठायतलाई यी माथिका कुनै पनि सजाय हुनसक्छ । तर पहुँचकै भरमा यी सबै कानुनहरु नका लागि सामान्य बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्