काकाकुल काठमाण्डौ शहर, सर्वसाधरण भन्छन ‘प्यास मेट्ने पानी कहिले पाउछौ ।



सैघाली खबर
काठमाण्डौ, २८ मंसिर । सुक्खा मौसम शुरु भएसँगै काठमाडौं उपत्यकामा पिउने पानी अभाव चर्किन थालेको छ । मागभन्दा तेब्बर कम आपूर्तिका कारण समस्या हरेक वर्ष उकालो लागिरहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘केयूकेएल’का अनुसार अहिले पिउने पानीको दैनिक माग ३७ करोड ५० लाख लिटर छ । तर, आपूर्ति दैनिक १३ करोड लिटर मात्र छ । मंसिरको अन्तिम साता चल्दै गर्दा काठमाडौंको ‘काकाकुल’ अवधि पनि शुरु भइसकेको छ ।

दैनिक आपूर्ति हुने पानीमध्ये ४० प्रतिशत अर्थात् पाँच करोड २० लाख लिटर त पाइपलाइनबाट चुहिएरै खेर जान्छ । बाँकी सात करोड ८० लाख लिटरले राजधानी शहरको माग धान्न सक्ने कुरै भएन ।

चुहावटको उक्त तथ्यांक केयूकेएलले नै केही समयअघि गरेको अध्ययनबाट तयार भएको हो । उपत्यकाको जनसंख्या २७ करोडलाई आधार मान्दा प्रतिव्यक्ति दैनिक उपलब्धता २८ लिटर छ । जबकि, उपत्यकामा एक व्यक्तिलाई दैनिक सरदर एक सय ३८ लिटर पानी आवश्यक हुने केयूकेएलकै भनाइ छ ।

पानीका पाँच स्रोत

केयूकेएलका प्रवक्ता सुरेशराज आचार्यका अनुसार उपत्यकाका वितरण हुने पिउने पानीका पाँच वटा प्राकृतिक स्रोत छन्, शिवपुरी, फर्पिङ, सुन्दरीजल, मनोहरा र भक्तपुर । तिनै स्रोतबाट जोहो हुने पानी भण्डारण गरेर घर(घरमा पुर्‍याइने गरेको छ ।

सरकारले मागअनुसार आपूर्ति दिन नसकेपछि उपत्यकामा पानीको व्यापार पनि उत्तिकै चलेको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरमार्फत् पाँचदेखि ६ करोड लिटर पानी आपूर्ति हुन्छ । यस्तै, जारमार्फत् २० लाख र बोतलमार्फत् करिब अढाइ लाख लिटर पानी व्यवसायीले बिक्री गर्दै आएका छन् ।

ट्युबवेल, प्राकृतिक धारा, कल र बोरिङबाट पनि उपत्यकावासीले आवश्यकता टार्दै आएका छन् ।

सधैंको अभाव

केयूकेएलका अनुसार काठमाडौंमा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिन्छ । आवादी बाक्लिन र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको हाहाकार हुन थालेको हो, उपत्यकामा । अभावले शिखर चुमेको भने एक दशकयता हो ।

 

तथापि, त्यसअघि पनि पर्याप्त उपलब्धता थिएन । ढुंगेधाराहरुबाट मानिसले आवश्यकता पूरा गर्दै आएका थिए । दशकयता भने अधिकांश ढुंगेधारा सुकिसकेका छन् । सोही कारण उपत्यकाका बासिन्दा ट्यांकर र जारको पानीमा निर्भर रहनुपर्ने अवस्था आएको हो ।

केयूकेएल प्रवक्ता आचार्यका अनुसार असार, साउन र भदौबाहेक नौ महिनामा उपत्यकामा पानी अभाव चर्को रहन्छ ।

वर्षायाममा दैनिक करिब १४ करोड लिटर केयूकेएलमार्फत् वितरण हुन्छ, उपत्यकामा । चर्को सुक्खायाम मानिने चैत(वैशाखतिर उक्त परिमाण नौ करोड लिटरमा सीमित रहन्छ ।

अहिले उपभोक्ताले तीनदेखि आठ दिनमा एकचोटी पानी पाउँछन् । चैत(वैशाखतिर दुई साता बित्दा पनि उपभोक्ताका धारामा पानी खस्दैन ।

पुस ०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पानी आपूर्तिको अवस्थामा सुधार ल्याउन केयूकेएललाई १७ बुँदे निर्देशनसमेत नदिएका होइनन् । वितरण प्रणालीमा खानेपानी संस्थानको बदमासी नै औंल्याएका थिए, दाहालले । उक्त निर्देशन भने कागजमै सीमित बन्यो, केयूकेएलले कार्यान्वयनमा ल्याएको छैन, अझै ।

चुहावट नियन्त्रणमा बेवास्ता

पानीको चुहावट भन्नाले पाइप फुटेर बाहिरिने समस्या मात्र होइन । मिटरमा बिल नउठ्ने समस्या पनि त्यसैमा पर्छ । खासगरी, पुराना संरचना र पाइपका कारण ठूलो परिमाणमा पानी खेर जाने गरेको केयूकेएलले बताउँदै आएको छ ।

प्रवक्ता आचार्यका अनुसार उपत्यकामा घर(घरमा पानी पुर्‍याउने कतिपय पाइपलाइन सय वर्षभन्दा पुराना पनि छन् । ‘यसलाई नयाँ संरचनाले प्रतिस्थापन नगरेसम्म खानेपानी चुहावट रोक्न सकिन्न,’ आचार्य भन्छन् ।

 

मेलम्चीको पानी ल्याउने प्रयास अन्तिम चरणमा रहेकाले पूराना पाइपलाइन प्रतिस्थापन गरेर नयाँ जडान भइरहेको छ । उक्त काम सकिएपछि पाइपलाइनबाटै पानी खेर जाने समस्या कम हुनेमा केयूकेएलका अधिकारीहरु विश्वस्त देखिन्छन् ।

उपभोक्ताले तोकिएको मापदण्डभन्दा उचाइमा धाराहरु जडान गरेकाले पनि चुहावट नियन्त्रण हुन नसकेको केयूकेएलका अधिकारीहरु बताउँछन् ।

पहुँचवाला उपभोक्तालाई प्राथमिकता दिएर पानी वितरण गर्ने गरेको आरोपबाट पनि मुक्त छैन, केयूकेएल । कर्मचारीहरुले नै चुहावटलाई प्रश्रय दिएको आरोप पनि लाग्दै आएको छ ।

विकल्पप्रति बेवास्ता

आवादी बढेसँगै पानी अभाव चुलिने संसारभरको समस्या हो । काठमाडौंमा सरकारी व्यवस्थापन बलियो हुन नसक्दा समस्या चुलिएको हो । अभाव टार्ने विकल्प तयार पार्न सर्वथा असफल छन्, सरकारी निकाय ।

विकसित मुलुकमा अभाव टार्ने गतिलो उपायका रुपमा खानेपानीको रिचार्ज ९पुनर्भण्डारण० र पुनर्चक्रण विधि अपनाइने गरेको छ । मरुभूमिको मुलुक इजरायलले उपभोक्ताका धारामा खसेको पानी पाँच पटकसम्म प्रयोग गरेर मात्र ‘ड्रेनेज’ प्रणालीमा पुग्ने प्रविधि नै आविष्कार गरेको छ ।

आकाशे पानी संकलनको प्रविधि त नेपालकै धेरै स्थानमा प्रयोगमा छ । शौचालयबाहेकमा प्रयोग भएको पानी घर वरिपरि नै रिचार्ज गराउने उपाय पनि अवलम्बन हुन सकेको छैन, काठमाडौंमा । आधुनिक घरहरुमा यी दुवै विधि अपनाउन नसकिने होइन ।

केयूकेएलका अधिकारीहरु भने पुनःप्रयोग विधि उपत्यकामा प्रभावकारी नहुने दाबी गर्छन् । ‘पुनःप्रयोगमार्फत् आपूर्ति घटाउने विषय सरकारकै प्राथमिकतामा छैन,’ केयुकेएलका एक अधिकारी भन्छन्, ‘नेपालजस्तो खानेपानीका प्रशस्त स्रोत भएको मुलुकमा यस्तो प्रविधि अपनाउनुभन्दा प्राकृतिक स्रोतबाटै ल्याउन सहज र प्रभावकारी हुन्छ ।’

पुनस्प्रयोगको विधिबारे कुनै प्रयास र अध्ययनसम्म हुन सकेको छैन ।

मेलम्ची आयोजना सम्पन्न भएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिनेछ । यसले काठमाडौंको पानीको अभाव परिपूर्ति गर्ने केयूकेएलको दाबी छ

पर्खाइ मेलम्चीको

उपत्यकाको पानी अभाव टार्ने एक मात्र विकल्प देखिन्छ, मेलम्ची आयोजना । आयोजना निर्माणको समय सीमा थपिएको थपियै गर्दा काठमाडौंवासीको आशा ‘आकाशको फल’ बन्दै आएको छ । आगामी दशैंसम्ममा मेलम्चीको पानी उपत्यकावासीका धारा खसालिसक्ने सरकारी लक्ष्य छ ।

आर्थिक वर्ष ०५५र५६ देखि निर्माण शुरु भएको उक्त आयोजना दुई दशक बित्न लाग्दा पनि अझै संशयमै देखिन्छ ।

शुरुमा चक्रपथभित्र मात्रै वितरण गर्ने तयारी गरिएको आयोजनाको पानीका लागि अहिले पाइप बिच्छ्याउने र संरचना निर्माणको काम धमाधम छ ।

मेलम्ची आयोजना सम्पन्न भएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिनेछ । यसले काठमाडौंको पानीको अभाव परिपूर्ति गर्ने केयूकेएलको दाबी छ ।

त्यसबाहेक सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाबाट पनि थप १७र१७ करोड लिटर पानी ल्याउने तयारी पनि छ ।

यस्तै, एसियाली विकास बैंक ९एडीबी० को आर्थिक सहायतामा सरकारले चक्रपथ बाहिर थप पानी वितरणका लागि भण्डारण, प्रशोधन केन्द्र र पाइपलाइन विस्तारको अध्ययन पनि अगाडि बढाएको छ ।

त्यसका लागि शिवपुरी, फर्पिङ र भक्तपुरमा पूर्वाधार निर्माणका लागि निजी क्षेत्र डिजाइन निर्माणाधीन रहेको केयूकेएलले जनाएको छ । उक्त आयोजनाको लागत करिब एक अर्ब रहने अनुमान रहेको प्रवक्ता आचार्य बताउँछन् । र, आगामी चार वर्षमा उक्त आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्