गत आर्थिक बर्षमा खोटाङमा १४ करोड ७५ लाख राजस्व संकलन



खोटाङ / १९ साउन ।
करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६/७७ मा रू. १४ करोड ७५ लाख राजस्व संकलन गरेको छ ।

आयकर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र अन्य सेवाबापतको रकम करदाता सेवा कार्यालयले संकलन गरेको हो ।

गत साउनमा रू. २ करोड ५५ लाख ५५ हजार, भदौमा रू. ३८ लाख २७ हजार, असोजमा रू. ५६ लाख ५७ हजार, कात्तिकमा रू. ६२ लाख ८ हजार, मंसिरमा रू. ६० लाख ८५ हजार, पुसमा रू. १ करोड १९ लाख ४ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालयले बताएको छ ।

यस्तै, माघमा रू. १ करोड ७७ लाख ९७ हजार, फागुनमा रू. ७४ लाख ५१ हजार, चैतमा रू. ३८ लाख ४४ हजार, वैशाखमा रू. ७४ लाख ४७ हजार, जेठमा रू. १ करोड १५ लाख ७४ हजार र असारमा रू. ४ करोड १ लाख २६ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालयका कर अधिकृत गोपाल राईले जानकारी दिए ।

करीब ९० प्रतिशत भन्दा बढी साना करदाताबाट राजस्व संकलन भएको खोटाङमा कोभिड–१९ को असरका कारण राजस्व संकलनमा समेत असर परेको कर अधिकृत राईले बताए । गत आर्थिक वर्षमा ५ हजार ९२० ले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, पी–प्यान र डीडीएस दर्ता गरेको उनले जानकारी दिए ।

करदाता सेवा कार्यालयले २०७५ साल चैत २८ गतेदेखि दिक्तेलबाटै सेवा शुरू गरेको हो । दिक्तेलमा कार्यालय सञ्चालन भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पर्ने लाहान पुग्नु पर्ने बाध्यता अन्त्य हुनाका साथै कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क इजाजत तथा नवीकरण, कर संकलन, करदाताको विवरण संशोधन लगायत सेवा प्रवाह समेत गर्दै आएको छ । आर्थिक अभियानबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्