सात नम्वर प्रदेशमा छ जनाको दौड, को बन्ला मुख्यमन्त्री ?



सैघाली खबर्
धनगढी, २८ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतगणना पुरा भएसँगै विभिन्न प्रदेशमा मुख्यमन्त्रीको चर्चा पनि चुलिएको छ ।

सात वटा प्रदेशमध्ये छ मा बाम गठबन्धनको पूर्ण बहुमत प्राप्त गरेको छ । प्रदेश नम्बर ७ मा बाम गठबन्धनले प्रत्यक्षतर्फ दुई तिहाई सिट प्राप्त गरेसँगै मुख्यमन्त्री को हुने भन्ने चर्चा पनि व्यापक बनेको छ ।

प्रत्यक्षतर्फको निर्वाचन नतिजाअनुसार प्रदेश नम्बर ७ मा नेकपा एमालेले सबैभन्दा बढि सिट प्राप्त गरेको छ । यससंगै नेकपा एमालेकै नेताहरूको नाममा भावी मुख्यमन्त्रीको आाकलन हुन थालेको छ ।

चुनाव आउनु धेरै अघिदेखि एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले आफूलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए । उनका समर्थकहरू अहिले उनलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् । खासगरी सामाजिक सञ्जालमा उनका समर्थकहरूले उनलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् ।

एमालेको प्रदेश सभा सदस्यको समानुपातिक बन्द सूचीमा थापा दोस्रो नम्बरमा रहेका छन् । नेपालको संविधान २०७२ अनुसार पदेश सभामा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुन्छ । यो प्रावधानले थापा प्रदेश सभा सदस्य बन्न पाउँछन् वा पाउँदैनन् भन्ने चर्चा चलेको छ ।
जानकारहरूका अनुसार एमालेले प्रदेश सभामा समानुपातिकतर्फ आठ जनासम्म सदस्य पठाउन पाउने अवस्था आएमा थापाको प्रदेश सभा सदस्य बन्ने सम्भावना कम हुने छ ।

प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १७ र समानूपातिकतर्फको आठ सहित प्रदेश नम्बर ७ मा एमालेका २५ प्रदेश सभा सदस्य बन्ने सम्भावना रहेको छ ।

२५ जना प्रदेश सभा सदस्यमा ३३ प्रतिशत महिलालाई राख्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सबै आठ सिटमा महिलालाई नै पठाउनुपर्ने हुन्छ ।
यदि प्रदेश सभाको समानुपातिकतर्फ एमालेले १० सिट प्राप्त गरेमा मात्र नेता थापालाई पिछडिएको क्षेत्रबाट प्रदेश सभा सदस्य बन्ने बाटो खुल्ने जानकारहरू बताउछन् ।

प्रदेश नम्बर ७ मा ५३ सदस्यीय प्रदेश सभा बन्ने छ । सो सभामा १७ जना महिला र तीन जना पिछडिएको क्षेत्रबाट प्रदेश सभा सदस्य बन्नेछन् ।
सामाजिक सञ्जालमा एमाले नेता थापा प्रदेश सभा सदस्य बन्छन् वा बन्दैनन् भन्ने जिज्ञासामा उनी निकट रामबहादुर बानियाले संबिधानको प्रावधान हेर्न भनेका छन् ।

प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले एक जना पनि महिला उम्मेदवार दिएको थिएन ।एमाले वैकल्पिक पोलिट ब्युरो सदस्य थापा प्रदेश सभा सदस्य बन्ने सम्भावना कम भएपछि यतिवेला एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह र कैलालीका अध्यक्ष दीर्घ सोडारीको दावेदारी आउन थालेको चर्चा सामाजिक सञ्जालमा व्याप्त छ ।

शाह बाजुरा प्रदेश ख र सोडारी कैलाली ४ को क बाट प्रदेश सभा सदस्य निर्वाचित भएका छन् ।शाहले वैकल्पिक पोलिटब्युरो सदस्य थापाको सम्भावना नभएपछि आफू नै मुख्यमन्त्रीको दावेदार रहेको बताए ।

त्यस्तै, एमाले कैलालीका अध्यक्ष सोडारीले पनि पार्टीले जिम्मेवारी दिए आफू मुख्यमन्त्री हुन तयार रहेको बताएका छन् । उनको पक्षमा पनि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले प्रदेशको मुख्यमन्त्रीको भागवन्डा गर्दा प्रदेश नम्बर ७ माओवादीको भागमा जाने आँकलन पनि गरिएको छ ।

एमालेले आफ्नो अत्यधिक बहुमत रहेका प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्रीको दाबी गर्ने सम्भावना रहेको छ । ती क्षेत्रमा एमालेका शीर्षनेताहरू नै मुख्यमन्त्रीको दौडमा रहेकोले पनि ती प्रदेश एमालेले नै लिने सम्भावना छ ।त्यो अवस्थामा प्रदेश नम्बर ६ र ७ मा माओवादी केन्द्रले भाग पाउने सम्भावना पनि रहेको छ ।

प्रदेश नम्बर २ मा भने मधेसवादी दल आफैंले वा अरू दलसँग मिलेर सरकार बनाउने सम्भावना रहेको छ ।माओवादी केन्द्रले ७ नम्बर प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा वीरमान चौधरीलाई भावी मूख्यमन्त्रीका रूपमा हेरिएको छ । तर, उनलाई माओवादीका प्रभावशाली नेता लेखराज भट्टको समर्थन हुन्छ वा हुँदैन भन्ने चर्चा चलेको छ ।

वीरमानको सम्भावना कम भएमा अछाम क्षेत्र नम्बर १ प्रदेश ख बाट निर्वाचित झपटबहादुर बोहरा मुख्यमन्त्री बन्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता भट्टको प्रीय पात्र मानिन्छ ।माओवादीका नेता हरिराम चौधरी उत्सव पनि प्रदेश संसदको समानुपातिक सूचीमा छन् ।

माओवादीले बझाङबाट देवकी मल्ललाई प्रत्यक्षबाट प्रदेश सभा सदस्य बनाइसकेकोले एमालेका थापाको तुलनामा चौधरीलाई सांसद वन्न केही सजिलो हुने अनुमान गरिएको छ । उत्सव पनि प्रचण्ड र लेखराज दुवैका निकै नजिकका नेताका रूपमा परिचित छन् । त्यसैले चौधरी मुख्यमन्त्री बन्न सक्ने सम्भावना पनि आउन सक्छ । ७ नम्बरमा प्रत्यक्षका ३२ सीटमा एमालेले १७, माओवादीले १०, काँग्रेसले ४ र राजपाले १ सीट जितेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्