नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघ गठन अध्यक्ष मा देवकोटा



काठमाडौं : स्थापित संस्थाहरुमाथि आफ्ना हकअधिकार रक्षाको शसक्त भूमिका नखेलेको आरोप लगाउँदै वैदेशिक रोजगार क्षेत्रका महिला व्यवसायीहरुले छुट्टै संस्था निर्माण गरेको बताएका छन् । उनीहरुले शनिबार राजधानीको लाजिम्पाटमा महिला व्यवसायीहरुको भेला गरी सीतादेवी देवकोटाको अध्यक्षतामा नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघ गठन गरेको बताएका छन् ।हाल एघार सदस्यीय तदर्थ कार्यसमिति रहेको महिला व्यवसायीहरुको संघलाई संघसंस्था ऐन २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी विधिवत रुपमा सञ्चालन गर्ने उनीहरुको निर्णय छ । गल्फ लिंक ओभरसीज प्रा.लि.की सञ्चालक देवकोटा अध्यक्ष रहेको संघमा एसआरएस म्यानपावर प्रा.लि.की सञ्चालक सुभद्रा देवी बराल र अरोमा इटरनेशनल प्रा.लि.की सञ्चालक प्रतिमा महर्जन उपाध्यक्ष रहेका छन् ।मदिना इन्टरनेशनल प्रा.लि.की सञ्चालक सुवर्ण श्रेष्ठ महासचिव, लुम्बिनी दर्शन प्रा.लि.की सञ्चालक माधुरी मुडवरी पौडेल सचिव र सुपर्व फर अल्टिमेट प्रा.लि.की सञ्चालक चन्द कमल श्रेष्ठ कोषाध्यक्ष रहेका छन् ।त्यसैगरी कार्यसमिति सदस्यहरुमा एस एलडी म्यानपावर प्रा.लि.की सञ्चालक सरस्वती गुरुङ, अलकर्निस म्यानपावर प्रा.लि.की सञ्चालक हिरादेवी बुढाथोकी, अक्टुपस रिक्रमेन्ट प्रा.लि.की सञ्चालक सुनिता कर्माचार्य, तत्कालीन नारायणी ओभरसीज प्रा.लि.की सञ्चालक हेमा गुरुड र  प्यासिफिक प्रा.लि.की सञ्चालक गंगा कमारी पुन रहेकी छन् ।नेपालमा ‘महिला व्यवसायी’ भएर व्यवसाय सञ्चालन गर्न अत्यन्तै चुनौती रहेको तर वैदेशिक रोजगारका क्षेत्रमा स्थापित संघसंस्थाहरुले सरकारी निकायमा छलफल गर्दा महिला व्यवसायीहरुका समस्या नउठाइदिने गरेको आरोप लगाउँदै अध्यक्ष देवकोटाले भनिन्, ‘हामी कुनै पनि संस्थाको नाम लिन चाहन्नौं, तर हाम्रो आवाज कसैले उठाइदिएनन् । त्यसैले नयाँ संस्था बनाउनुपर्ने अवस्थामा पुग्यौं ।’आफ्नो नेतृत्वको संस्थाले सबै व्यवसायीहरुका साथै महिला व्यवसायीहरुको आवाज राज्यका निकायहरुसँग पुर्‍याउने उनले दाबी गरिन् । उनले भनिन्, ‘विगतमा व्यवसाय गर्न कै लागि लाइसेन्स बचाउन दुई, चार र छ करोडको प्रावधान आयो, हामी धरौटी राख्न चाहन्थ्यौं तर हाम्रो पारिवारिक संरचनामा महिलाको नाममा धेरैको सम्पत्ति हुँदैन । हामीलाई धेरै समस्या थियो । महिला व्यवसायीहका दृष्टिले अझैपनि धेरै समस्या रहको छन् । राज्यका अगाडि कुरा पुर्‍याउन पाएको भए महिला व्यवसायीहरुका लागि धरौटी रकम पनि केही घटि हुनसक्थ्यो होला, तर त्यसतर्फ कुनै संस्थाले सोचिदिएनन् । त्यसैले महिला व्यवसायीका लागि संस्था खोल्नुपर्ने अवस्था सिर्जना भयो । अब हामी स्वतन्त्र बस्छौं । कुनैपनि संस्थामा सहभागिता जनाउँदैनौं ।’कुल ८ सय ५४ व्यवसायीहरुमध्ये हाल ३२ जना महिला व्यवसायीहरुको उपस्थिति  देखिएको र सबै खोजविन गर्दा साझेदारसमेत जोडेर करिब ७० जना महिला वैदेशिक रोजगार व्यवसायी रहेको उनको भनाइ छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्