एसिड प्रहारका अधिकांश घटनामा प्रेम सम्बन्ध



काठमाडौं / २० साउन ।
काठमाडौंको सीतापाइलामा बिहीबार साँझ ओखलढुंगाकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि तेजाब आक्रमण भयो । केहीबेरअघि सँगै बसेर चिया खाएको व्यक्तिको योजनामा उनीमाथि आक्रमण भएको खुलेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले घटनामा संलग्न दुई जनालाई बिहीबारै पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा गार्मेन्ट उद्योग सञ्चालक रौतहट घर भइ डल्लु बस्दै आएका मोहम्मद आलम र उनका कर्मचारी भारतीय नागरिक मुन्ना मोहम्मद छन् ।प्रहरीले शुक्रबार जिल्ला अदालत, काठमाडौंबाट ७ म्याद लिएर विस्तृत अनुसन्धान थालेकाे छ । तर, प्रारम्भिक अनुसन्धानमा एसिड प्रहार गर्नुको कारण आलमको प्रस्ताव कार्कीले अस्वीकार गर्नु भएको खुलिसकेकाे छ ।

स्मरणीय विषय चाहिँ के छ भने आलम विवाहित व्यक्ति हुन् । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘शारीरिक सम्बन्ध राख्ने चाहले उनी नजिकिएको जस्तो देखिन्छ ।’कार्कीले भने उनलाई तीन महिना अघिबाटै फेसबुकमा ब्लक गरेकी थिइन् । यद्यपि, आलमले पछ्याउन छाडेका थिएनन् ।अपराध महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापा भन्छन्, ‘एकदमै योजनाबद्ध तरिकाले तेजाब प्रहार गरेको पाइएको छ ।’एसिड प्रहार भइसकेको अवस्थामा तुरुन्त चिसो पानी हालेर क्षतिलाई कम गर्न सकिन्छ – डा. ईश्वर लोहनीगत वर्ष २ जेठमा पनि साँझकै समयमा २० वर्षीया जेनी खड्कामाथि कालोपुलमा तेजाब प्रहार भयो । घटनाबारे जानकारी पाएलगत्तै परिचालित प्रहरीले पेप्सिकोलाबाट एसिड आक्रमण गर्ने विष्णु भुजेललाई पक्राउ गर्‍यो ।अनुसन्धानका क्रममा भुजेल खड्काको पूर्वपति भएको खुल्यो । पहिल्यै विवाह भइसकेको कुरालाई लुकाएर दोस्रो विवाह गरेको थाहा पाएपछि खड्का भुजेलबाट टाढिएकी थिइन् । तर, भुजेलले भने उनको पिछा छाडेनन्

अनुसन्धानमा संलग्न तत्कालीन डीएसपी (हाल एसपी) होविन्द्र बोगटीका अनुसार कार्की प्रकरणमा जस्तै यो घटनामा पनि एसिड हान्नु अघि भुजेलले पीडितलाई भेट्न आग्रह गरेका थिए ।

‘उनीहरुबीच पटकपटक सम्पर्क भएको कल डिटेल रेकर्डले पनि देखाएको थियो’, बोगटी सम्झन्छन्, ‘करिब ८ बजेतिर उनले योजनाबद्ध रुपमा जेनीमाथि एसिड प्रहार गरेका थिए ।’

वीरगञ्जमा विद्यालय जाने क्रममा १५ वर्षीय मुस्कान खातुन एसिड आक्रमणमा परिन्, २० भदौ २०७६ मा । छपकैयास्थित घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विद्यालय जाने क्रममा वीरगञ्ज–६, गणेशमान चौकमा मुस्कानमाथि एसिड हानिएको थियो ।

घटनालगत्तै अनुसन्धान थालेको प्रहरीले योजनकार मुस्कानको नजिकै घर भएका १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा मुस्कानले मजिदको प्रेम प्रस्ताव अस्वीकार गरेपछि घटना भएको देखियो ।

वसन्तपुर झोछेमा रहेको ‘ए प्लस’ ट्युसन सेन्टरमा बसिरहेका वेला १० फागुन २०७१ मा दुई युवती तेजाब आक्रमणमा परे । प्रवेशिका परीक्षाको तयारी गरिरहेका १६ वर्षीया संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेत घाइते भए ।

मास्क लगाएर आएर जीवन विकले संगीतालाई लक्षित गरेर एसिड प्रहार गरेको खुल्यो । प्रहरीले करिब एक महिना लामो प्रयासपछि विकलाई पक्राउ गर्‍यो ।

अनुसन्धानका क्रममा उनी विक र संगीताको परिवार वसन्तपुरमा एउटै घरमा डेर गरेर बस्दै आएको खुलेको थियो । विकले संगीतालाई ट्युसन पनि पढाउँदै आएका थिए र दुवै एकअर्काबीच नजिकिएका थिए ।

त्यसबारे भाइले थाहा पाएपछि दुई परिवारबीच खटपट सुरु भएको थियो र विकले एसिड हान्ने योजना बनाउन थालेको खुलेको थियो online khabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्