पाकेन खिचडीः नेकपाको आजको बैठकपनि निष्कर्ष विहीन



काठमाडौं । सत्तारुढ नेकपाभित्रको खिचडी अझैं पाक्न सकेको छैन । सत्ता प्राप्तिको रस्साकस्सी चानचुने हिसावले फैसला हुनेवाला पनि छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको छलफल पनि कुनै निष्कर्षविना सकिएको छ ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी थिए । छलफलका क्रममा दाहाल र खनालले सरकारले पार्टीमा कुनै परामर्श नगरी एकतर्फ निर्णय गर्ने गरेको भन्दै ओलीको कार्यशैलीप्रति विरोध जनाए । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील भट्टलाई नियुक्त गरेकोप्रति पनि दुई नेताहरुले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भने सरकारले गर्ने नियमित नियुक्तिका सम्वन्धमा कसैले आपत्ति जनाउन नपर्ने तर्क गरे । हिजो बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डको सिइओमा भट्टलाई नियुक्त गरेको थियो ।

खनालनिकट स्रोतका अनुसार पार्टीको विवादका विषय सचिवालयमा छलफल गर्ने वा स्थायी समितिमा गर्ने भन्नेबारे पनि कुरा मिल्न सकेको छैन । ओली सचिवालय बैठकमै पार्टीको विवादबारे छलफल गर्नुपर्ने अडानमा छन् । भने प्रचण्ड तथा खनाल स्थायी समितिमा छलफल हुनुपर्नेमा छन् ।

बालुवाटार जानुअघि दाहालले आज बिहान उपाध्यक्ष वामदेव गौतमसँग उनको निवास भैंसेपाटीमा छलफल गरेका थिए । नेता नेम्वाङले भने बालुवाटारमा आजको छलफल सकारात्मक भएको दावी गरे । ‘छलफल एकदमै सकारात्मक भएको छ, भोली पनि फेरि कुराकानी हुनेछ’ उनले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्