संसदवादीहरुको उल्टो दिनगन्ती सुरु हुनेछः पूर्वसांसद उपाध्याय



नेकपा (माओवादी केन्द्र)का सचिव समेत रहेका रुपन्देहीका पुर्वसंसाद विनोद उपाध्यायले संसदवादीहरुले प्रयोग गर्ने महंगो निर्वाचन प्रणाली जनताको न्यायप्रणालीका विरुद्ध रहेको दावी गरेका छन् । नेता उपाध्यायले सामिाजक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले जनताले न्या पउने व्यवस्था निर्माण हुनुपर्नेमा जोड दिएका छन ।

उनले भ्रष्टाचारी, दलाली र महंगीको रक्षाकवजकारुपमा दलाल संसदवादी राजनीतिक प्रणालीबाट हुने निर्वाचनबाट देश र जनताको पक्षमा रहेका इमान्दारहरु जहिले पनि पछिपर्ने भन्दै संसदवाद जनताको मुख्य शत्रु भएको तर्क गरेका छन । उनले भनेका छन–‘संसदवादीहरुले गरीव जनतालाई निर्वाचनमा भाग लिन पाउने नियम बनाए पनि महंगो निर्वाचन प्रणालीले गरीव जनताले भाग लिने आँटै गर्न सक्दैनन् ।

परिणाम यिनै संसदवादी लुटेराहरुलाई मत दिन बाध्य हुन्छन र आफ्नो किस्मतमै छैन भनि बिलौना गर्छन् ।’ संसदवादीहरुले जनन्यायीक व्यवस्था विरुद्ध षड्यन्त्र गरेपनि अन्तिम जित भने अन्यायका विरुद्ध लड्ने जनताकै हुने उनले ठोकुवा गर्दै भनेका छन्–‘गैर संसदवादीहरुले नेता बन्न रहर गरेपनि तिनका पछाडि जनता नभएको जस्तो देखिन्छ तर पनि अन्यायको बिरुद्ध जनताहरु लडिरहेका छन् । ढिलो चाँडो सत्यको बिजय निश्चित छ । जुन दिन जनताले यो कुरा बुझ्ने छन् त्यही दिनदेखि संसदवादीहरुको उल्टो गिन्ती शुरु हुन्छ ।’

उनले वर्तमान अवस्थामा संसदवादी र गैह्रसंसदवादी गरी दुई खालको राजनीतिक गतिविधि चलिरहेको भन्दै संसदवादीहरुले जनतामा भ्रम छर्ने राजनीति गरिरहेको तथा गैह्रसंसदवादी र सच्चा कम्युनिष्टहरुले देश र जनताको न्याय र मुक्तिको पक्षमा आवाज उठाइरहेको बताएका छन ।

सुकिला मुकिला बनेर राजनीतिमा भित्रिएकाहरुले इमान्दार तथा देशभक्त जनतामाथि भ्रमको राजनीतिक गतिविधि गरिरहेको भएपनि त्यसलाई जनताले नबुझ्दा संसदवाद जिवित रहेको उनको तर्क छ । उनले अबका जनताले संसदवादलाई बुझेर भ्रष्ट तथा फोहरको डंगुरमा मिल्काउने विश्वास समेत उनले गरेका छन् । भ्रष्ट व्यवस्थामा रमेका नेता र तिनका चम्चा कार्यकर्ताहले भावी पुस्तालाई पुग्ने सम्पत्ति जम्मा गर्ने र राज्यशक्तिलाई दुष्प्रभाव पार्ने काम गरिरहेको भन्दै उनले चर्को विरोध गरेका छन ।

उनले लेखेको फेसबुक स्ट्याटसको पूर्णपाठ यस्तो छः
नेपालमा वर्तमान अवस्थामा दुइ किसिमको राजनीति भै रहेको छ । पहिलो संसदवादी दोश्रो गैरसंसदबादी । पहिलो राजनीति गर्नेहरु हरेक पाँचबर्षमा आफू र आफ्नो पार्टीले मात्रै देश र जनताको हित गर्छ भनेर भाषण गर्छन, र जितेर गएपछि जनतामाथि शासन गर्छन् । यहाँ सम्मकि जनता, कार्यकर्ता समेतको फोन उठाउँदैनन् । केहि चम्चा कार्यकर्ताको भरणपोषण गर्दै आफ्ना कैयौं पुस्ताको लागी सम्पत्ति जम्मा गर्छन । सुकिला मुकिला बनि नेता कहलाउनमा नै आनन्द मान्छन । यस्ता मानिस जनतालाई भ्रममा पारी शुरुका दिनमा इमान्दार देखिए पनि पछिल्लो समयमा भ्रष्ट फोहरको डंगुर बाहेक अरु हुँदैनन । र जनता तिनैमाथि बिस्वास गरेकै कारण दुख पाउँछन् । दोश्रो किसिमको राजनीति गर्नेहरु अपेक्षाकृत इमान्दार देखिए पनि आमूल परिवर्तनको कष्ट साध्य बाटोमा हिँड्दै जाँदा आफुभित्र रहेका निम्न पूँजीवादको बिरुद्ध संघर्षमा धुर्मुराई रहेका छन । सरकारले यिनहरुलाई नजिकबाट नियाली रहेको छ । जो अलि शसक्त रुपमा देखा पर्छन यिनलाई प्रतिबन्धित गरी बाँकीलाई केही छुटदिए झैं गरि बिस्तारै आफु जस्तै बनाउन कसरत गरिरहेको छ । संसदवादीहरुले गरीब जनतालाई निर्वाचनमा भाग लिन पाउने नियम बनाए पनि महंगो निर्वाचन प्रणालीले गरीब जनताले भाग लिने आँटै गर्न सक्दैनन । परिणाम यिनै संसदवादी लुटेराहरुलाई मत दिन बाध्य हुन्छन र आफ्नो किस्मतमै छैन भनि बिलौना गर्छन। अर्कातिर गैरसंसदवादीहरुले नेता बन्न रहर गरेपनि तिनका पछाडि जनता नभएको जस्तो देखिन्छ तर पनि अन्यायको बिरुद्ध जनताहरु लडिरहेका छन । ढिलो चाँडो सत्यको बिजय निश्चित छ । जुन दिन जनताले यो कुरा बुझ्ने छन त्यहि दिनदेखि यी संसदवादीहरुको उल्टो गिन्ती शुरु हुन्छ ।

बिनोदकुमार उपाध्याय
सचिवः नेकपा (माओबादी केन्द्र)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्